aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

यसरी बैंकमै थन्कियो ५०० केजी सुन

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, १४ फागुन २०७६
यसरी बैंकमै थन्कियो ५०० केजी सुन

काठमाडौं । सुनको मूल्य निरन्तर आकाशिएर कारोबारमा मन्दी आउँदा सुन व्यवसायीहरूले बैंकबाट पहेँलो धातुको खरीदमा कटौती गरेका छन् । व्यवसायीहरूले सुन नकिन्दा अहिले बैंकहरूमा ५०० केजीभन्दा बढी सुन थन्किएको छ ।

नेपाल बैंकर्स संघका अनुुसार फागुन शुरू भएलगत्तै व्यवसायीहरूको बैंकबाट सुन किन्ने क्रम ह्वात्तै घटेको छ । नेपालमा विवाह/व्रतबन्धको सिजन अर्थात् असोज, मंसिर, माघ र फागुनमा बैंकबाट उच्च मात्रामा नै सुन विक्री हुने गरेको थियो । तर, यसपटक फागुनको मध्यसम्म पनि व्यवसायीहरूले बैंकबाट धेरै सुन किनेका छैनन् । 

गतवर्ष प्रतितोला रू. ६० हजारको हाराहारीमा रहेको सुनको मूल्य अहिले रू. ८० हजार पुगेको छ । मूल्य बढेकाले पहिले दैनिक करीब ५० केजी सुन खपत हुने गरेको नेपाली बजारमा अहिले दैनिक १० केजीदेखि १५ केजीसम्म मात्र खपत हुने नेपाल सुनचाँदी व्यवसायी महासंघ बताउँछ । सुनको कारोबार घटेकैले बैंकबाट सुन किन्न कम गरिएको सुनचाँदी व्यवसायीहरूको भनाइ छ ।

व्यवसायीहरूले सुन किन्न छोडेपछि बैंकहरूले पनि अहिले सुनको थप आयात नगरेको बैंकर्स संघको भनाइ छ । ‘मूल्य बढेकाले व्यवसायीहरूले बैंकबाट सुन किन्न छोड्नु भएको छ,’ संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘अहिले हामीसँग ५०० केजी सुन स्टकमा छ । त्यो विक्री नभएसम्म नयाँ सुन आयात गर्दैनौं ।’

साउनको शुरूदेखि नै सुनको मूल्य बढेकाले चालू आवको पहिलो ७ महीनामा सुनको आयातमा धेरै कमी आएको छ । यस अवधिमा १ हजार ६५० केजी अर्थात् रू. ९ अर्ब ४ करोडको सुन आयात भएको छ, जुन परिमाणको आधारमा गत आवको भन्दा ६३ दशलमव ५५ प्रतिशतले कम हो । गत आवको माघसम्म ४ हजार ५२७ केजी अर्थात् रू. २० अर्बको सुन आयात भएको थियो । 

प्रतिक्रिया दिनुहोस