नेपालगन्ज। बाँके जिल्लामा यस वर्ष विगतको तुलनामा ८० प्रतिशत जति इँटा उत्पादन घट्ने भएको छ । गत मङ्सिरदेखि हालसम्म पनि पटकपटक हिउँदे वर्षा भइरहेकाले ठूलो परिमाणमा इँटा क्षति हुँदा उत्पादनमा ८० प्रतिशत कमी आउने इँटा व्यवसायी सङ्घ बाँकेले जनाएको छ । बाँकेमा उत्पादित इँटाको बजार सुदूरपश्चिमको महेन्द्रनगरसम्म र कर्णालीको जुम्लासम्म रहे पनि उत्पादन घटेकै कारण बाँकेमै निकै अभाव देखिएको छ । इँटा पाउनै समस्या भएको निर्माण व्यवसायीले बताएका छन् ।
इँटा व्यवसायी सङ्घ बाँकेका कार्यालय सचिव सूर्यमणि पौडेलका अनुसार यस वर्ष पाँचपटकभन्दा बढी वर्षा भएपछि वर्षभरको माग धान्न तयार पारिएका करोडौँ इँटा नष्ट हुँदा उत्पादनमा ठूलो प्रभाव परेको छ । उदले सोमबार बेलुकादेखि मङ्गलबार दिउँसोसम्म भइरहेको पछिल्लो वर्षाकै कारण बाँकेमा मात्र बचेखुचेका दुई करोड ५० लाखजति इँटा नष्ट भएको बताए । फागुनको मध्यसम्म ७० प्रतिशतभन्दा बढी इँटा उत्पादन गरिसक्नुपर्नेमा पटकपटकको वर्षाले क्षति गर्दा हालसम्म १० प्रतिशत मात्र उत्पादन हुन सकेको र अब वर्षा भएन भने १० प्रतिशत थप उत्पादन भई २० प्रतिशत मात्र उत्पादन हुने देखिएको कार्यालय सचिव पौडेलले बताए ।
इँटा व्यवसायी सङ्घका अनुसार हिउँदे वर्षाले बाँकेका ५५ इँटा उद्योगमा तयार भइरहेका र पोल्ने तयारीमा राखिएका करिब २५ करोड इँटामा क्षति भएको छ । पटकपटक गरेर एउटै व्यवसायीको ६० देखि ७० लाखसम्म इँटा गलेर काम नलाग्ने भएको सङ्घले जनाएको छ । इँटा उत्पादकले सिजनमा सात चरणसम्म इँटा उत्पादन गर्ने गरेका छन् । एकपटकमा सातदेखि १० लाखसम्म इँटा तयार पारिन्छ, पौडेलले भने, यसपटक कुनै पनि उत्पादकले तीन चरण पनि उत्पादन गर्न सकेका छैनन् । यस वर्ष थप बाँकेमा इँटाको ठूलै समस्या देखिने भएको छ, सचिव पौडेलले भने, इँटाको माग बाँकेमा मात्र नभई सुदूरपश्चिम र कर्णाली प्रदेशसम्म अत्यधिक छ तर हालसम्मको उत्पादनले माग धान्ने अवस्था छैन ।
मूल्य पनि बढ्नेइँटा व्यवसायीलाई हालसम्मकै बढी क्षति यस वर्ष भएकाले मूल्यवृद्धि हुने व्यवसायी बताउँछन् । सङ्घले प्रतिइँटा १३ रुपियाँ ५६ पैसा मूल्य तोके पनि व्यवसायीले हाल १७ रुपियाँमा बिक्री गरिरहेका छन् । इँटा व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष तथा व्यवसायी प्रकाश शाहले उत्पादन करिब करिब शून्यमा झर्दा अहिले १७ रुपियाँमा बिक्री गरे पनि यो मूल्य २२–२३ रुपियाँमा जाने र सोपछि जति तिरे पनि इँटा नपाउने अवस्था आउने बताए ।
प्रतिक्रिया दिनुहोस