aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

बामदेब गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाकाे निर्णय, बन्लान् त प्रधानमन्त्री ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ फागुन २०७६
बामदेब गौतमलाई राष्ट्रिय सभामा पठाउने नेकपाकाे निर्णय, बन्लान् त प्रधानमन्त्री ?

काठमाडौं । पटक पटक संसदमा छिर्न रहर गरेका  नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने भएको छ । बुधबार बसेको सचिवालय बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय गरेको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

उनी पहिले हुम्लाका सांसद धनबहादुर बुढा तथा काठमाडौं-७ का रामवीर मानन्धरलाई राजीनामा गराएर प्रतिनिधि सभा सदस्य बन्न चाहन्थे । कास्की-२ बाट निर्वाचित रवीन्द्र अधिकारीको निधनपछि भएको उपनिर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीले उठ्न आग्रह गरे पनि गौतम त्यहाँ आफूले हार बेहोर्ने भन्दै अस्वीकार गरेका थिए ।

२०७५ यताको सार्वजनिक रेकर्डमात्रै केलाउँदा पनि गौतमले प्रधानमन्त्री बन्नका लागि पटक-पटक प्रयास गरेको देखिन्छ । ती सबै प्रयास असफल भएपछि राष्ट्रिय सभा सदस्यमा नेकपाले गौतमलाई पठाउने निर्णय गरेको हो । साथै प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने विवादित प्रस्ताव पनि अघि बढाइएको थियाे ।

त्यस्तै संविधान संशोधनका लागि गृहकार्य गर्न कार्यदल बनाइएको भनिए पनि त्यो क्रियाशील नहुने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए । पार्टीबाट छानिएका गौतमलाई सरकारले राष्ट्रपतिसमक्ष सिफारिसगर्ने छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनीत गरेपछि उनी राष्ट्रिय सभा सदस्यनिर्वाचित हुने छन् ।

५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रपतिबाट ३ जना मनोनीत हुनेव्यवस्था छ । राष्ट्रपतिबाट मनोनीत भएका युवराज खतिवडाको कार्यकाल यही फागुन २०गतेदेखि सकिन लागेकोले गौतमलाई राष्ट्रिय सभामा पठाउन लागिएको हो ।

राष्ट्रिय सभा सदस्यको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएकोमा अर्थमन्‍त्री रहेका खतिवडाले दुई वर्ष अवधि पाएका थिए । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित भए पनि गौतम प्रधानमन्त्री बन्नका लागि निरन्तर प्रयास गरिरहेका छन् ।

यसैबीच, संविधान संशोधनको गृहकार्यका लागि नेकपाले गठन गरेको माधवकुमार नेपाल नेतृत्वको तीन सदस्यीय कार्यदल चार दिनमै भंग भएको छ । शनिबारको सचिवालय बैठकले नेपाल नेतृत्वमा सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेको कार्यदल बनाएको थियो ।

 

तर, बुधबार बसेको बैठकले तत्कालका लागि कार्यदलको औचित्य नरहेको भन्दै यसलाई भंग गरेको छ । उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउनका लागि संविधान संशोधनको तयारी गरिएको भन्दै नेकपाको आलोचना भएको थियो । 

प्रतिक्रिया दिनुहोस