aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 
डा. युवराज खतिवडा

प्रधानमन्त्रीको विश्वासपात्र खतिवडाको अर्थमन्त्री पद ६ महिना कि ३ वर्ष

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ फागुन २०७६
प्रधानमन्त्रीको विश्वासपात्र खतिवडाको अर्थमन्त्री पद ६ महिना कि ३ वर्ष

काठमाडौं । डा. युवराज खतिवडाले अर्थमन्त्रीको पद सम्भवत जोगिने भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रियसभाका सांसद बनेका अर्थमन्त्री खतिवडाको कार्यकाल सकिन लाग्दा उनलाई फेरि अर्थमन्त्री पद सम्हाल्ने अवसर जुट्न लागेको हो । बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्ने औपचारिक निर्णय गरेको छ । यसै निर्णयले उब्जाएको आशंका हो अर्थमन्त्रीको निरन्तरता वा बहिर्गमन । 

गौतम राष्ट्रिय सभाको सदस्यमा मनोनयन भएपनि अर्थमन्त्रीले निरन्तरता पाउने÷नपाउने विषयमा अड्कल काट्न थालिएको हो । तर, अहिले राजनीतिक सिनारियो परिवर्तन भएको छ । खतिवडाले नै निरन्तरता पाउने बुझिएको छ । तर, खतिवडाले अर्थमन्त्रीमा निरन्तरता पाएपनि ६ महिना कि वाँकी ३ वर्ष । यस विषयमा भने कुनै निर्णय भइसकेको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो बचाउका लागि भएपनि खतिवडालाई नै अर्थमन्त्री बनाउने बुझिएको छ । सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटा बाहिरिएपछि सरकारको बचाउ गर्न पनि प्रधानमन्त्रीलाई अर्थमन्त्री टिकाउनु पर्ने वाध्यात्मक अवस्था छ । यो अवस्थाका कारण अर्थमन्त्रीले निरन्तरता पाउने करिब निश्चित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रका वरिष्ठ राजनीतिज्ञहरूलाई पाखालगाएर ‘टेक्नोक्र्याट’ खतिवडालाई २ वर्षअघि अर्थमन्त्री बनाएका थिए । अर्थमन्त्री खतिवडालाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरेर अर्थमन्त्री बनाइएको थियो ।

यद्यपि अर्थमन्त्री खतिवडा सांसद बनेको राष्ट्रिय सभाको सदस्य पद यहि फागुन २० गतेदेखि रिक्त हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्य बनेका अर्थमन्त्री खतिवडाको ठाउँमा बामेदव गौतम नियुुक्त हुने निर्णय नेकपा सचिवालयले गरेको छ । 

डा.युवराज खतिवडा अर्थमन्त्रीमा नियुक्ति भएको २ वर्ष पुग्नै लागेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा. खतिवडाको कार्यकाल २० फागुनमा सकिँदैछ । नेकपाभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउने अवसर अर्थमन्त्री खतिवडालाई दिने तयारी भएको एकपक्षको भनाइ छ भने अर्को पक्षले सरकारको वाँकी कार्यकाल ३ वर्षसम्म उनैलाई निरन्तरता दिने बताइरहेका छन् । 

यसबाट के बुझिन्छ भने नेकपा सचिवालयले गौतमलाई राष्ट्रिय सभामा नियुक्त गर्ने निर्णय गरेपनि प्रम ओलीले अर्थमन्त्रीको पदभार भने खतिवडालाई दिने बुझिएको छ । अर्थमन्त्री बनेपछि आर्थिक क्षेत्रमा नकारात्मक भाइब्रेशन सिर्जना गरेका खतिवडा अहिले पद जाने कि रहने भएपछि केही सच्चिएर सकारात्मक देखिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस