काठमाडौं । संघीय सरकारले गण्डकी प्रदेशको मुख्य भन्सार कार्यालयका रूपमा रहेको त्रिवेणी छोटी भन्सारको स्तरोन्नति गर्नेभएको छ ।
गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एक मात्र नाकाका रूपमा रहेको त्रिवेणी छोटी भन्सारलाई मुख्य भन्सार बनाउने सरकारी तयारीको पूर्वी नवलपरासीवासीले स्वागत गरेका छन् ।
गत वर्षसम्म २० हजार रुपियाँसम्मको मालसामान ढुवानी तथा कारोबार गर्ने अनुमति पाएको उक्त भन्सारको स्तरवृद्धि गरी मूल भन्सारमा स्तरोन्नति गर्ने तयारी सुरु गरिएको सङ्घीय सांसद तिलक महतले जानकारी दिए ।
सांसद महतका अनुसार अबको केही दिनभित्रै आधिकारिक समारोहको आयोजनासहित वस्तु जाँचपास सेवा सुरु गर्ने तयारीका लागि काठमाडौँबाट प्राविधिक टोली खटाइएको छ ।
विनयीत्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले त्रिवेणी भन्सारलाई मूल भन्सारका रूपमा सरकारले अगाडि बढाउने निर्णयले पूर्वी नवलपरासीको विकासमा ठूलो गोगदान पुग्ने बताए ।
गण्डकी प्रदेशको जीवनरेखा मानिएको कोरला–त्रिवेणी सडकको मुख्य भन्सार कार्यालय त्रिवेणी हुने भएपछि नवलपरासीका उद्योगी व्यवसायीमा नयाँ तरङ्ग छाएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष अमृत भट्टचनले बताए ।
गण्डकी प्रदेशको मुख्य सीमा भन्सार कार्यालयका रूपमा त्रिवेणीलाई विकास गरिएपछि नवलपुरको सीधा कारोबार भारत बिहारको राजधानी सहर पटनासँग हुने भएको छ ।
निर्माणाधीन त्रिवेणी–दुम्कीबास सडक सम्पन्न हुनासाथ त्रिवेणीवासीको नमुना सदरमुकाम कावासोतीसँग सीधा सम्बन्ध कायम हुने देवचुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष रेशम सापकोटाले बताए ।
हाल कावासोतीबाट त्रिवेणी जान प्रदेश ५ को बाटो भएर जानुपर्ने बाध्यता छ । त्रिवेणी–कोरला सडकलाई गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अगाडि बढाएको छ ।
त्रिवेणी मुख्य भन्सार हुनेबित्तिकै यसको सम्पर्क छिमेकी मुलुक भारतको पटना र चीनको कोरलासँग हुने भएकाले त्रिवेणीवासी निकै उत्साहित भएका छन् ।
त्रिवेणी भन्सारलाई मुख्य भन्सार नाकाका रूपमा घोषणा गरिएपछि पूर्वी नवलपरासीको विकासमा दीर्घकालीन दूरगामी प्रभाव पार्ने र जिल्लाको विकासमा समेत यसले ठूलो महत्व राख्ने संविधान सभाका पूर्वसदस्य महेन्द्रध्वज जिसीले बताए ।
प्रतिक्रिया दिनुहोस