aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अडियो बाँस्कोटाकै हो भन्ने प्रमाण छैनः प्रधानमन्त्री ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ फागुन २०७६
अडियो बाँस्कोटाकै हो भन्ने प्रमाण छैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले घुस लिएको भन्ने व्यहोराको अडियो पोख्त प्रमाण नभएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित बागमती प्रदेश स्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा अध्यक्ष समेत रहेका ओलीले कमिसन प्रकरणलाई लिएर तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटामाथि लागेको आरोप प्रमाणित भइनसकेको बताए। आफू र बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीलाई पनि उनले पत्रु को संज्ञा दिए।

 ‘अहिलेसम्म टेप प्रकरण प्रमाणित छैन, उहाँ (बाँस्कोटा)ले होइन भनिरहनु भएको छ। स्वीस राजदूतावासले फ्रड हो भन्यो। आफ्नो नाममा बात लागेकाले राजीनामा दिनुभो, भ्रष्टाचार प्रमाणित भएजसरी प्रचार गर्नु आवश्यक छैन,’ ओलीले भने, ‘आरोप छैन पुष्टि छैन। काम नलाग्ने पत्रु उजुरिको के काम। त्यो भ्रष्ट उजुरी हो।’

 ‘आरोप सत्य हो होइन हेर्नु पर्‍यो। अनाडी मान्छेले रेकर्ड गरेको छ। त्यसमा डिल नै भएको छैन,’ उनले थपे।

उनले आफूले बाँस्कोटाको बचाउ नगरेको दाबी गर्दै अनुसन्धानपछि दोषी पाए कारबाही हुने बताए। आन्दोलनलाई तुहाउन बाँस्कोटामाथि यस्तो खेल भएको उनको तर्क थियो।

‘सत्यता छ भने कारबाही हुन्छ, होइन भने फटाहालाइ कारबाही हुन्छ,’ ओलीले भने, ‘मैले डिफेन्स गर्न खोज्या होइन, आन्दोलनलाई तुहाउन यस्तो काम भएको होला।’

उनले आफ्नो नियतमाथि प्रश्न नउठाउन पनि आग्रह गरे। ‘म धन कमाउन हिँडेको होइन, देश बनाउन हिँड्या हो। पैसा कमाउने भए व्यापार गर्थेँ,’ ओलीले भने।

सरकार प्रचारमुखी भएको आरोप खण्डन गर्दै ओलीले भने, ‘यत्रो सफलता, उपलब्धि प्रचार नगर्ने पनि हुन्छ र ?’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया दिनुहोस