aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 
पुस्तक कर

गगन थापा विदेशी छापाखानाका एजेण्ट !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ फागुन २०७६
गगन थापा विदेशी छापाखानाका एजेण्ट !

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका अर्थमन्त्रीले बिहीबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पुस्तकको आयातमा लगाएको करका विषयमा स्पष्ट पारेपनि त्यो विषय चर्चामा नै छ । शुक्रबार पुर्वस्वास्थ्य मन्त्री तथा कांग्रेस नेता गगन थापाले अर्थमन्त्रीसँग बहस गर्न तयार रहेको भन्दै अर्थमन्त्रीको चुनौती स्वीकार गरेपछि यो विषय पुनर्जागृत हुने सम्भावना बढेको छ । 

बिहिबार आफू पुस्तकमा कर लागाउनुको कारण र यसको औचित्यताबारे बहस गर्न तयार रहेको भन्दै अर्थमन्त्रीले त्यसका लागि चुनौती दिएका थिए ।  उनले वडो स्पष्ट भाषामा ‘पुस्तकमा कर लगाइएको विषयलाई ज्ञानमा कर लगाइएको भन्दै दिग्भ्रमित पार्न खोजिएको’ भनिसक्दा समेत बौद्धिक नेताका रुपमा परिचित गगन थापाले यो विषयलाई उचाल्न खोज्नुलाई कतिपयले अनौठो समेत मानेका छन् । 

स्वदेशी प्रेस तथा छापाखानाको संरक्षणका लागि विदेशबाट आयातित पुस्तकमा सरकारले त्यस्तो  कर उठाउने कुरा जायज भएको अर्थमन्त्रीको तर्क छ  । खतिवडाले अरु देशहरुमा पनि पुस्तकमा कर लगाउने गरिएको उदाहरण दिँदै उनले प्रश्न गरेका थिए, ‘धेरै देशमा पुस्तकमा १८ प्रतिशतसम्म कर लगाउने गरेका छन् । हाम्रो देशमा अर्बौ रुपैयाँ लगानी गरेर प्रेस र छापाखाना स्थापना गरिएको छ । उनीहरुले मेसिन र कागज दुबैमा कर तिर्नुपर्छ । करै नतिरी ल्याउने पुस्तकसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यस्तो हुदाँ हामीले हाम्रा उद्योगलाई कसरी टिकाउने ?’ 

करै नलाग्ने भएपछि पुस्तकमा जथाभावी मूल्य राखेर पनि बिक्री÷वितरण भएको खतिवडाले बताएका थिए । तर, पुस्तकमा लगाइएको करको विषयलाई अर्कै ढंगले ब्याख्या गरिएपछि उनको स्पष्टोक्ति यस्तो थियो, ‘पुस्तकको व्यापार व्यापार नै हो, ज्ञानको व्यापार हुँदैन ज्ञानको त आदानप्रदान हुन्छ । ज्ञानको व्यापार भनेर दिग्भ्रमित पार्ने काम नगरौँ।’

एउटा पुस्तकमा ३०–४० प्रतिशत नाफाखाने तर सरकारलाई १० प्रतिशत कर दिन नमान्ने प्रवृत्ति गलत भएको टिप्पणी अर्थमन्त्रीले गर्दै आएका छन् । उनी भन्छन, ‘नाफामा कर लगाइएको हो, ज्ञानमा कर लगाइएको होइन । व्यापार गरेर नाफा धेरै कमाएपछि कर उठाइन्छ । कर लगाएपछि पुस्तक नै बिकेनन् भनेर हल्ला गरिएको छ । कर छलेर ल्याएको पुस्तक समात्दा ज्ञान पक्रिइयो भन्ने गरिएको छ।’ उनले थप स्पष्ट पारे, ’हो, त्यस्तो ज्ञान नै प्रक्रिया हो किनकी त्यो चोरी गरिएको ज्ञान हो ।’ उनले थपे, ’हामीले व्यापारमा कर लगाएको हो, ज्ञानमा कर लगाएइको होइन् ।’

यता, नेपाली कांग्रेसका नेता गगन थापाले पुस्तकमा लगाइएको करबारे अर्थमन्त्री डा. युवराज खतिवडाको भनाईमा प्रतिक्रिया असान्दर्भिक प्रतिक्रिया दिएका छन् । मन्त्री डा.खतिवडाले ‘पुस्तकमा लगाइएको कर हट्दैन, बरु बहस गर्न तयार छु’ भनेको भोलिपल्ट नेता थापाले ट्विटर मार्फत बहस गर्न तयार रहेको जवाफ दिएका हुन । उनले लेखेका छन, ‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ– पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु । मन्त्रीज्यू हामी पनि तयार छौं।’ थापाको प्रश्न छ, ‘बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?’

कर लगाउनु वा बढाउनु जनताका लागि राम्रो होइन तर स्वदेशी उद्योगको संरक्षण गर्ने सवालमा लगाइने करले देशमा लगानी तथा उद्यमशीलता प्रवद्र्धन वातावरण बनाउँछ । पुस्तकमा लगाइएको करले देशको अहित नै गर्छ भन्ने हुँदैन । यही सन्दर्भलाई जोडेर गगनको यो प्रतिक्रियाप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । कतिपयले त उनलाई नेता कम र विदेशी छापाखानाको एजेण्ट ज्यादा भन्दै टिप्पणी गरेका छन् । 

यसअघि नेपालका धेरै प्रकाशकहरुले भारतमा पुस्तक छाप्ने र नेपालमा ल्याएर बेच्ने गरेका थिए । अनौपचारिक ढंगको त्यस्तो व्यापार मौलाएपछि नेपालका छापाखानाको प्रतिष्पर्धात्मक क्षमता नपुग्ने देखेर अर्थमन्त्रीले बजेट मार्फत यस्तो करको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस