aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

दीगो विकास लक्ष्य प्राप्त गर्न सबै पालिकामा अस्पताल र डाक्टर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ फागुन २०७६
दीगो विकास लक्ष्य प्राप्त गर्न सबै पालिकामा अस्पताल र डाक्टर


काठमाडौं । सरकारले सन् २०३० सम्ममा स्वास्थ्यसम्वन्धि दीगो विकास लक्ष्य हासिल गर्न सबै पालिकामा अस्पताल र डाक्टर पुर्याउने रणनीति लिएको छ । सरकारले दीगो विकास लक्ष्य नं ३ हासिल गर्नका लागि सबै वडामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने र सबै पालिकामा अस्पताल र डाक्टर पु¥याउने कार्ययोजना बनाएको राष्ट्रिय योजना आयोगकी सदस्य उषा झाले जानकारीे दिइन् । दिगो विकास लक्ष्य प्राप्त गर्न नेपालले उक्त क्षेत्रमा १ खर्ब ३४ अर्ब रुपैयाँ खर्चिनु पर्ने अनुमान गरिएको छ । 

राष्ट्रिय योजना आयोगका सदस्य उषा झाले दीगो विकास लक्ष्य पुरा गर्न नेपालको समग्र विकासको लागि पनि आवश्यक भएको बताइन् । तर, यसको लागि राजनीतिक एवं प्रशासनिक प्रतिबद्धता, स्थानीय तहसम्मको साझा रणनीति निर्माण र कुशल नेतृत्व आवश्यक रहेको उनको भनाइ छ । दीगो विकास लक्ष्य हासिल गर्नका लागि  केन्द्र, प्रदेश र स्थानीय स्तरमा सवै पक्ष समेटिने गरी समिति निर्माण गरिएको पनि उनले जानकारी दिइन  । 

नेपालले बनाएको दीगो विकास लक्ष्य अनुसार २५ वर्षपछि नेपालीको प्रतिव्यक्ति आम्दानी १२ हजार डलर पुग्नेछ । यसका लागि आयोगले पहिलो ५ वर्ष आधार निर्माण गर्ने भएको छ  । त्यसपछिको १० वर्षमा देखिने गरी परिवर्तन गर्ने योजना बनाएको छ । यसका लागि सरकारका सबै अंगहरुको उत्तिकै सक्रियता आवश्यक रहेको उनले जोड दिइन् ।  

प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) को आयोजनामा शुक्रवार भएको दीगो विकास लक्ष्यसम्वन्धि चौंथो राष्ट्रिय परामर्श गोष्ठीमा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् । दीगो विकास लक्ष्यअन्तर्गतको लक्ष्य नं ३ हासिल गर्नका लागि गरिएको राष्ट्रिय परामर्श गोष्ठीमार्फत नेपालले बनाउन लागेको स्वयंसेवी राष्ट्रिय समीक्षा (भोलुन्टियर नेसनल रिभ्यू) का लागि सहयोग पुग्ने अपेक्षा गरिएको हो ।

कार्यक्रममा मुल्मीले दीगो विकासका लक्ष्य अन्तराष्ट्रिय प्रतिवद्धता अनुसार आएको र नेपालले कार्यान्वयनका लागि प्रतिबद्धता जनाइ सूचकहरु समेत निर्माण गरी सोही अनुरुप बजेट तर्जुमा गरिसकेको परिवेशमा सबै पक्षको उत्तिकै भूमिका रहने स्पष्ट पारे ।
सबै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् । गैरसरकारी संस्थाहरुको दायित्व र अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको जिम्मेवारी तथा कर्तव्यबोध गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।  

विश्व स्वास्थ्य संगठनका जनस्वास्थ्य प्रशासक डा.मोहम्मद खुर्सिद अलाम हैदरले नेपालमा स्वास्थ्यसम्वन्धि दिगो विकास लक्ष्य हासिल गर्नका लािग प्राथमिक स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्नुपर्ने, तीनओटै सरकारका अंगहरुको क्षमता र सहकार्य वृद्धि गर्नुपर्ने बताए ।  

अन्तराष्ट्रिय गैर सरकारी महासंघका रामनरेस यादवले अहिले पनि केन्द्र, प्रदेश र स्थानीय तहमा जाँदा नीतिगत रुपमा समस्या रहेको बताए । गैरसरकारी संस्था महासंघका अध्यक्ष जीतराम लामाले दीगो विकास लक्ष्यका सवै सूचकहरुको स्थिति कस्तो छ भनेर अध्ययन हुनुपर्नेमा जोड दिए । दीगो विकास लक्ष्य हासिल गर्नका लागि नागरिक समाजको भूमिका अझै पनि स्पष्ट नभएकोमा उनले आश्चर्य व्यक्त गरे । 

जनताको स्वास्थ्य अभियन्ता प्रा.डा.शरदराज वन्तले कुनै पनि तवरबाट गरिब तथा निमुखा परेका जनताको स्वास्थ्य अधिकार रक्षा हुनुपर्ने र समानता एवम् सामाजिक न्यायको सिद्धान्तको आधारमा दीगो विकास लक्ष्य चल्नुपर्ने स्पष्ट पारे । 

अहिले १ जनाले कमाएकोबाट १ हजारलाई खान पुग्ने भए पनि १ करोड जनता भोकै रहेको र २० अर्व जनतालाई पुग्ने गरी घरहरु भएता पनि १ चौथाइ मानिस बेघर रहेको दृष्टान्त उनले प्रस्तुत गरे । सामाजिक न्याय र असमानताका कारण विश्वको आधा सम्पत्ति २८ जनाको हातमा पुगेको पनि उनले जानकारी दिए । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठले कोरोना भाइरसको २० ओटा मात्र केस नेपालमा देखियो भने सबै क्षेत्रबाट नाकाबन्दी भइ समस्या आउने भएकाले सरकार अहिले यसमा सजग रहेको जानकारी दिए । 


 

प्रतिक्रिया दिनुहोस