aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अर्थमन्त्रीबारे प्रम ओलीलाई सानो सुझाव

  • सीताराम  भट्टराई
    सीताराम भट्टराई
  • शनिबार, १७ फागुन २०७६
अर्थमन्त्रीबारे प्रम ओलीलाई सानो सुझाव

फाल्गुन २१ गते हुने शपथ ग्रहण समारोहमा फेरी भेट हुने अभिव्यक्ति दिएपछि अर्थमन्त्री डा. युवराज खतिवडा अहिले चर्चामा छन् । राष्ट्रिय सभा सदस्यका रूपमा उनको पदावधि समाप्त भएसँगै अब अर्थमन्त्रीका रूपमा उनको निरन्तरता हुन्छ वा हुँदैनको अड्कलबाजी समेत फिक्का हुने गरी उनको चर्चा चुलिएको हो । भलै राष्ट्रपतिद्वारा मनोनयन हुने राष्ट्रियसभा सदस्य सम्बन्धी पछिल्लो विवादमा उनको कुनै भूमिका छैन । बरु, सत्तारुढ दल नेकपाको सचिवालयले नेता बामदेव गौतमलाई मनोनयन गर्ने भनी गरेको निर्णयले समस्या निम्त्याएको छ ।

कतै डा. खतिवडाको निरन्तरताको विषयले नै यो सरकार गिर्ने त होइन भन्नेसम्मका अनुमान र विश्लेषण एकातिर गरिंदैछ भने फाल्गुन २० पछि पनि डा. खतिवडा नै अर्थ मन्त्रालयमा रहिरहने कुरा पुरै नकार्ने विश्लेषकको पनि कमी छैन। यस्तोमा, अब के होला ? भन्ने प्रश्नको जवाफ सपाट हुँदैन।  तथापि, केही तथ्यका आधारमा  गरिएको टिप्पणी सही साबित हुने सम्भावना भने प्रचुर रहन्छ ।

के खतिवडा निर्विकल्प हुन् ?

छोटोमा भन्नुपर्दा निर्विकल्प कोहि पनि हुँदैन र होइन। तथापि, आजको परिवेशमा केपी ओली नेतृत्वको सरकारका एक अपरिहार्य पात्र चाहिँ डा. युवराज खतिवडा नै हुन्। उनलाई यसरी सरकारमा रहनै पर्ने महत्वपूर्ण व्यक्तिका रूपमा परिभाषित गर्नुका केही कारणहरू छन्।

पहिलो, खतिवडा हालको सरकारले अघि सारेको ’सुखी नेपाली, समृद्ध नेपाल’को  नाराका सूत्रधार हुन् । अत्यधिक बहुमत ल्याएको यो सरकारले चुनावताका जनविश्वास जित्न सार्वजनिक गरेको चुनावी घोषणा पत्रको मस्यौदाकार समेत  हुन, खतिवडा । उनको त्यहि  योगदानका आधारमा प्राप्त भएको मतलाई न्याय गर्न उनीबाहेक अरूले सक्दैनन् भन्ने धारणा प्रधानमन्त्री ओलीको समेत रहेको देखिन्छ ।  

दोस्रो, सत्तारुढ दल नेकपाको आन्तरिक शक्ति समीकरणमा कमजोर बनेका प्रधानमन्त्री ओलीलाई क्याबिनेटमा समेत विश्वासपात्रको खडेरी पर्ने सम्भावना देखिएको छ । विष्णु पौडेललाई जोगाउन सबै प्रकारका आलोचना र आक्रमण सहेका प्रधानमन्त्री ओलीलाई पछिल्ला दिनहरूमा कमजोर देखेपछि उनै पौडेलले समेत साथ छोडेको भन्ने खबरहरू सार्वजनिक भइरहेका छन्। पौडेलको कोल्टे फेराइले पार्टीमा ओलीलाई एक्लो बनाएको छ । त्यसैले कम्तीमा आफूले नेतृत्व गरेको मन्त्रिपरिषदमा त आफ्ना केही निकटस्थ व्यक्तिहरू रहून् भन्ने ओलीको इच्छा स्वाभाविक देखिन्छ । अनि ओलीसँग ‘रिदम’ मिल्ने त्यस्तो व्यक्ति अहिलेलाई डा.खतिवडा बाहेक अरू देखिएका छैनन् ।

तेस्रो, डा.खतिवडाले अर्थमन्त्रीमा नियुक्ति पाए देखि नै नेकपाका एक थरी नेताहरूले लगभग आफ्नो संयमता गुमाएका थिए । तर, ओलीले मन्त्रीमा छानेका मध्ये सबैभन्दा सही व्यक्तिका रूपमा सो समयमा चुलिएको डा. खतिवडाको चर्चाले नेकपाका त्यस्ता नेताहरूलाई रक्षात्मक बनायो । राज्यबाट विकास कोषका नाममा लिने र सांसदले मनमौजी खर्च गर्ने ठुलो रकममा डा. खतिवडाले कैँची चलाएपछि फेरी एक पटक त्यस्ता नेता र सांसदको समेत मानसिक सन्तुलन खल्बलियो ।

अर्थमन्त्रीको सो निर्णय र अडानले जनसमर्थन पाएपछि उनी विरोधीहरू मरीच झैँ चाउरिए । यी सबै कुरा नियालिरहेका डा.खतिवडा कहिले पनि विचलित भएनन् । उनी आफ्नो सुझबुझ र निर्णयमा अडिग रहे । कुकुर भुकाइले हात्तीको यात्रा रोकिनु हुँदैन भन्ने मान्यतालाई उनी चरितार्थ गर्नमा तल्लिन रहे । उनले यसबीच देखाएको दृढता र लोकप्रिय बन्ने भन्दा दीर्घकालसम्म लोक कल्याणकारी सिद्ध हुने गरी आफ्नो काममा दिएको निरन्तरताले पनि उनको अपरिहार्यतालाई पुष्टि गर्ने देखिन्छ ।

चौथो, यी अर्थमन्त्रीले आर्थिक अनियमितता, आर्थिक अराजकता रोक्ने कामलाई सधैँ  प्राथमिकतामा राखेका छन्।  सीमित समूहको स्वार्थमा उनले नीतिगत निर्णय गर्न ठाडै अस्वीकार गरेको धेरैलाई बिझेको छ। ’काले काले मिलिएर खाउन् भाले’ भन्ने नेपाली कर्मचारीतन्त्र, व्यापारी र राजनीतिमा सक्रिय व्यक्ति बिच स्थापित नीति र प्रवृत्तिलाई निरुत्साहित पार्न सक्दो प्रयत्न डा. खतिवडाले गरेका छन्। जसको कारण उनी धेरैको आँखामा बिझेका छन्।

तर, नेताको गोजीबाट नभएर प्रोजेक्ट बैकबाट छनौट भएर आएका योजनामा मात्र लगानी गर्ने, सिंहदरबारमा घुमिरहने दुई हजार भन्दा बढी दलालीलाई बेरोजगार पार्ने र आम जनताको हित रक्षालाई केन्द्रमा राखेर निर्णय गर्ने उनको तौर तरिकाले उनलाई लगभग निर्विकल्प अर्थमन्त्रीका रूपमा प्रधानमन्त्री सामु चित्रित गरेको देखिन्छ । अनपौचारिक रुपमा रहेको अर्थतन्त्रलाई औपचारिकमा ल्याउन उनले उठाएको यो कदमले तत्काललाई अप्ठ्यो अनुभव भएपनि देशको भविष्यका लागि भने यो सबैभन्दा राम्रो कदम बन्न सक्छ । 

किन परे खतिवडा निशानामा ? 

डा. खतिवडा कोरा राजनीतिकर्मी होइनन् ।  अन्य बकम्फुसे नेताभन्दा उनले अर्थशास्त्र बुझेका छन्। त्यसैले उनी तथ्यका आधारमा निर्णय लिन्छन्। पढेका नेता हुन् त्यसैले अनुसन्धान र अध्यायनले सिद्ध गरेका कुरा मात्र लागू गर्न खोज्छन् ।  तर, भोटको राजनीति गर्नेसँग न त्यो कुरा बुझ्ने क्षमता छ, न इच्छा शक्ति नै।  उनीहरू कतै सबै समस्याको समाधानमा यिनले अग्रसरता देखाउने त होइनन् भन्ने पिरोलोमा छन् ।  भोक, रोग र गरिबिको व्यापार गर्ने आदत परेकालाई त्यो अन्त्य गर्नु पर्छ भन्ने कुरा पाच्य हुने कुरै भएन।  त्यसैले उनीहरू अहिले तर्क, कुतर्क गर्दै अर्थमन्त्रीको खतिवडाको खेदो खनिरहेका छन् । 

त्यसबाहेक दलाल पुँजीपतिहरू खतिवडालाई सत्तो सराप गर्नेको अग्रपंतिमा छन्।  उनको राष्ट्रिय पुँजी निर्माणको योजना र स्वदेशी उद्योग प्रवर्धनको सोचले तिनीहरूको निन्द्रा गायब गरिदिएको छ।  त्यसैले अहिले ’अगेनो खोस्रेर छिमेकीको आँगन पुर्ने’ बानिपरेकाहरु पुस्तक आयातमा लगाएको करलाई ज्ञानमा कर लगाइयो भन्दै व्याख्या गर्दैछन्।  भ्रमको खेतीलाई यहाँ कसले र किन मलजल गर्दैछ भन्ने कुरा गगन थापा लगायतका नेताले आफ्नो सुझबुझ र बौद्धिक नेताको छविलाई दाउमा राखेर किताब व्यापारीको पक्षमा गरेको वकालतले पनि स्पष्ट हुन्छ। 

जब नेपालका नेतालाई यहाँका उद्योगीको भन्दा भारतीय उद्योगीको चिन्ता हुन्छ । नेपालका छापाखानाको भन्दा बनारसका छापाखानाको व्यापार घट्ने कुराले सताउँछ भने त्यो बेला नेपाली अर्थतन्त्रका सबैभन्दा बलिया धरोहरका रूपमा नेपाली उद्योगलाई जोगाउनु पर्छ भन्ने मान्यता राख्ने डा. खतिवडा जस्ता सधैँ निशानामा पर्छन् र त्यो स्वाभाविक पनि हो ।  

प्रधानमन्त्रीलाई सानो सुझाव 

आखिर प्रम ओली अब पार्टी र सरकार दुवै ठाउँमा असहाय झैँ बनिसकेका छन् । देश, जनता र राजनीतिक संस्कार सबै भुलेर ओलीलाई दबाबमा राख्ने एक मात्र योजनामा अर्का अध्यक्ष प्रचण्ड सफल बनिरहेका छन्।  पूर्व एमाले भित्रै बढेको विभीषण प्रवृत्ति माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतममा कत्तिसम्म हाबी भएको छ भन्ने कुरा यी नेताहरूले इतिहास भुलेर प्रचण्डको पिच्छ्लग्गु भएबाट नै प्रमाणित भैसकेको छ। त्यसैले प्रधानमन्त्री केपी ओलीले यो प्रतिकुलताका बाबजुद एउटा बोल्ड निर्णय गर्ने आँट गर्नु पर्छ । 

त्यो, निर्णय हो डा. खतिवडालाई फेरी राष्ट्रिय सभामा मनोनीत गर्ने र अर्थमन्त्रीको रूपमा उनलाई निरन्तरता दिने । अब कोही रिसाउला, समस्या थप्ला भन्ने त्रासबाट प्रधानमन्त्री मुक्त हुने बेला भैसकेको छ ।  जन्मदिनको केक काण्ड, ललिता निवासमा पौडेलको रक्षा गरेको दोष, आफ्ना प्रियपात्र गोकुल बाँस्कोटाको टेप प्रकरणले पुर्‍याएको क्षति अनि कुरा बढी काम कम गर्ने प्रधानमन्त्रीको रूपमा बनेको आफ्नो परिचय सबैबाट मुक्त हुने एक मात्र उपाय भनेको मुलुकमा विकास र समृद्धीलाई संस्थागत गर्ने नै हो।

त्यसैले सो कार्यका लागि आफूले रोजेका संवाहकलाई कुनै चुनाव हारेका, लालसी र अति महत्त्वाकाङ्क्षी व्यक्तिका लागि त्याग्नु कुनै दृष्टिबाट सही ठहर्न सक्दैन। त्यस बाहेक राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई नै लानुपर्ने पार्टी भित्रका अरू नेताको जोडबल भित्र लुकेको दाउपेच त ओलीले निन्द्रामा समेत बिर्सनु हुँदैन ।

  
यो समयमा प्रधानमन्त्री केपी ओलीले नितान्त आफ्नो स्वविवेक प्रयोग गर्ने बेला हो। विकास र समद्धीको उनको घोषित यात्रामा जसलाई उनले भरपर्दो सारथी ठान्छन् उसको साथ लिने छुट उनलाई दिनुपर्छ। यदि विरोधीको चित्त बुझाउने र साथ लिएर यो यात्रालाई गन्तव्यमा पुर्याउन सकिन्छ भन्ने भ्रम उनमा उब्जियो भने त्यो तुरुन्तै गलत सावित हुने निश्चित छ ।

ओलीले अब अर्थमन्त्रीमा खतिवडाको निरन्तरतालाई आफ्नो सरकारको अस्तित्वसँग जोड्न हिच्किचाउनु हुँदैन। आफ्नो प्रधानमन्त्री पद र खतिवडाको अर्थमन्त्रीको पद अलग हुन् नसक्ने एकै सिक्काका दुई पाटा हुन् भन्नेकुरा उनले नेकपाका नेताहरुले बुझ्ने भाषामा भन्न जरुरी छ ।   

 

प्रतिक्रिया दिनुहोस