aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

एसीसी इस्टर्न रिजन टी– ट्वान्टी : नेपाल दोस्रो खेलमा पनि पराजित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ फागुन २०७६
एसीसी इस्टर्न रिजन टी– ट्वान्टी : नेपाल दोस्रो खेलमा पनि पराजित

काठमाडौं । एसीसी इर्स्टन रिजन टी–२० क्रिकेट कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । थाइल्यान्ड क्रिकेट मैदानमा भएको आफ्नो दोस्रो खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको हङ्कङले नेपाललाई १ सय ५५ रनको लक्ष्य दिएको थियो । तर, जवाफि ब्याटिङ गरेको नेपालले १८.१ ओभरमा १० विकेट गुमाएर जम्मा १ सय १० रन बनायो ।

ब्याटिङ कमजोर हुँदा नेपालले लगातार दोस्रो हार व्यहोरेको हो । हङकङविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले ४ चौका र १ छक्काको मद्दतमा ४६ रन बनाए भने कुशल मल्लले १९ रन अभिनास बोहराले १२ र आरिफ शेखले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पूर्व कप्तान खड्का, उपकप्तान दीपेन्द्रसिह ऐरी, विनोद भण्डारी लगायत अनुभवी खेलाडीले सम्हालिएर ब्याटिङ गर्न नसक्दा नेपालले दोस्रो हार व्येहोरेको हो ।

यसअघि पहिलो ब्याटिङ गरेको हङ्कङले निर्धारित २० ओभर पुरा खेल्दै ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको हो । नेपालविरुद्ध हङकङका निजाकत खानले सर्वाधिक ४८ रनको योगदान दिए । उनले ६ चौका २ छक्का प्रहार गरेका थिए ।

यस्तै, कप्तान मोहम्मद अजिज खानले २९ रन, हारोन मोहम्मद अर्सदले २७ रन र शाहिद वासिफले २६ रन बनाएका थिए । नेपालका लागि स्पिनर सन्दीप लामिछाने र सुशन भारीले समान दुई–दुई विकेट लिए भने कुशल मल्लले एक विकेट लिएका थिए ।

हङकङविरुद्धको खेलमा नेपालका स्पिन बलरले राम्रो प्रदर्शन गर्दा पेश बलरले विकेट लिन सकेनन् । नेपालका लागि पेश बलिङमा करण केसी र अभिनास बोहरा थिए ।

यसअघि शनिबार भएको पहिलो खेलमा मलेसियाले नेपाललाई समान १ सय ५५ रनको लक्ष्य दिएको थियो भने नेपालले सबै विकेट गुमाएर मात्रै १ सय ३२ रन बनाएपछि २२ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस