
चीन । कोरोना भाईरसको प्रभावले चिनियाँ अर्थतन्त्रमा उल्लेख्य प्रभाव पर्न थालेका तथ्यांकहरु सार्वजनिक हुन थालेका छन्। फेब्रुअरी महिनामा चीनमा उद्योगहरुको सक्रियता निकै घटेको बताइन्छ। उत्पादनमुलक क्षेत्रको अवस्था गिरेको छ।
चीनको उद्योगहरुको अवस्थाबारे जानकारी दिने पर्चेजिङ म्यानेजर्स इन्डेक्स पिएमआई ५० बाट झरेर ३५ दशमलव ७ अंकमा पुगेसँगै अर्थतन्त्रमा अप्ठ्यारो अवस्था सिर्जना हुन लागेको संकेतका रुपमा विज्ञहरुले लिएका छन्। पिएमआई इन्डेक्समा गिरावट आएसँगै कोरोना भाइरसको असर चिनियाँ वित्तीय क्षेत्रमा देखिन थालेको बताइएको छ। तथ्यांकका अनुसार फ्याक्ट्रीहरु पर्याप्त कामदार नपाएर समेत समस्यामा परेका छन्।
निजी क्षेत्रका कम्पनीहरुको मासिक सर्वेक्षणबाट तथ्यांक निकालेर पिएमआइ गणना गरिन्छ, जसले देशको अर्थतन्त्र, स्वास्थ्य तथा वित्तीय बजारलाई पारेको प्रभावबारे थाहा हुन्छ। चीन विश्वकै ठूलो निर्यातकर्ता देश तथा उत्पादनमा विश्वकै तेस्रो ठूलो देश भएकाले तर पिएमआइमा हाल देखिएको गिरावटले यसको असर विश्वका अन्य देशहरुमा पनि पर्ने विश्लेषकहरुले अनुमान गरेका छन्।
चीनका लगाइएको बिभिन्न क्षेत्रमा प्रतिबन्धका कारण एप्पल, डिएगो, ज्यागुअर ल्याण्ड रोभर र फक्सवागनजस्ता चीनमा उत्पादन हुने कम्पनी तथा उपभोक्ता बजारमा भर पर्ने कम्पनीहरुलाई समेत असर परेको छ। आगामी दिनमा फ्याक्ट्रीहरु सामान्य ढंगले संचालन हुन सक्छन् वा सक्दैनन्, त्यसैबाट मात्र अर्थतन्त्रमा देखिएको समस्या समाधानको अनुमान गर्ने सकिने बताइएको छ।
ब्लुमबर्गका अनुसार चिनियाँ फ्याक्ट्रीहरुले यो साता आफ्नो क्षमताको ६० देखि ७० प्रतिशतसम्म मात्र काम गर्न सके। सन् २०२० को पहिलो ६ महिनाभित्रै चिनियाँ आर्थिक वृद्धिमा देखिएको प्रभाव स्पष्ट रूपमा देखिइसक्ने अनुमान गरिएको छ। चीनको ब्यापार व्यवसाय तथा अर्थतन्त्रमा देखिएको प्रभावका कारण विश्वभरकै सेयर बजारहरु यो हप्ता निकै तल झरेका छन्।
कोरोनाका कारण चिनियाँ अर्थतन्त्रमा परेको नकारात्मक प्रभावका बारेमा चर्चा भइरहँदा बादलमा चाँदीको घेराका रूपमा देखिएको छ, चीनमा घटेको वातावरण प्रदूषण। नासाले आफ्नो प्रदूषण मापन स्याटेलाइटहरुले चिनियाँ आकाशमा नाइट्रोजन डाइअक्साइडको मात्रामा उल्लेख्य गिरावट देखिएको जनाएको छ। यो चीनमा उद्योगहरुमा गतिविधि कम भएका कारण हुनसक्ने वैज्ञानिकहरुले बताएका छन्। बिबिसी
प्रतिक्रिया दिनुहोस