
काठमाडौं । यस वर्षको प्रि-मनसुन सुरु भएको छ । मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रिमनसुनमा स्थानीय वायुको प्रभाव बढ्दै जाने जान्छ । स्थानीय वायुको प्रभावका कारण यो समयमा एक ठाउँमा पानी परे पनि नजिकै पानी नपर्न पनि सक्ने मौसमविद्को भनाई छ । प्रिमनसुनमा दिनभर घाम लाग्ने र दिउँसो पछि पहाडी क्षेत्रमा हावाहुरी र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको छ ।
प्रि मनसुनको समयमा आगलागीका घटना पनि बढ्ने हुँदा सावधानी अपनाउन पनि मौसमविद्ले सुझाव दिएका छन् । यसपालिको हिउँदमा पर्याप्त पानी परेको छ । मौसमविदका अनुसार पोहोर परार हिउँदको अन्त्यतिर मात्रै वर्षा हुन्थ्यो भने यसपालि हिउँद लागेदेखि नै वर्षा भईरहेको छ । यो वर्षाले फलफूल र कृषिबालीलाई फाइदा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस