aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

प्रम ओलीलाई अस्पताल भर्ना गरिँदै, सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
प्रम ओलीलाई अस्पताल भर्ना गरिँदै, सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज(सोमबार) अस्पताल भर्ना गरिँदै छ । मिर्गौला प्रत्यारोपणका लागि उनी आज अस्पताल भर्ना हुन लागेका हुन् ।

आगामी बुधबार उनको नेपाली चिकित्सकहरुको टोलीले मिर्गौला प्रत्यारोपण गर्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । डा. प्रेमराज ज्ञवालीको टिमले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्ने सचिवालयले जनाएकाे छ ।

उनी मिर्गौला प्रत्यारोपणका लागि आज नै महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर भर्ना हुनेछन् । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि उनी गत भदौमा सिंगापुर गएका थिए ।

ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीमा युरोलोजी डिपार्टमेण्टका नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् ।

प्रत्यारोपणमा विदेशी डाक्टर संलग्नताको विषयको टुंगो निर्णय दिउँसो ३ बजे बस्ने बैठकले लगाउने डाक्टर ज्ञवालीले बताए । उनले भने, ‘हामीले विदेशी डाक्टर बोलाए पनि उहाँहरुले प्रत्यारोपण गर्ने होइन, केही भवितव्य आएमा पूर्वतयारीको लागि स्ट्याण्ड बाई राख्ने हो ।’

प्रधानमन्त्री ओलीको प्रत्यारोपणका लागि भारतस्थित अपोलो अस्पतालका एक डाक्टरलाई पनि ल्याउने तयारी छ, जो १२ वर्षअघि ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न थिए ।

डाक्टर ज्ञवालीका अनुसार सुरु गरेको ३ देखि ५ घण्टामा प्रत्यारोपण सकिन्छ । प्रत्यारोपणपछि बिरामीको अवस्था हेरेर अस्पतालमा राखिन्छ ।

१२ वर्षअघि पहिलो प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली उपचारका लागि गत भदौ ५ गते सिंगापुर गएका ओली ‘प्लाज्माफेरेसिस’ गरेर १५ दिनपछि स्वदेश फर्किएका थिए ।  गत कात्तिक महिनादेखि नियमित डायलाइसिस गराउँदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस