काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न मितिमा ट्याक्सीमा छुटेका नगद, गरगहना र महत्वपूर्ण सामानहरु आफैँ बुझाउन ल्याउने २१ जना चालकलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा युवराज रानामगर, यज्ञप्रसाद बराल, कु बहादुर श्रेष्ठ, नन्दलाल नगरकोटी, सुनिल थापामगर, अबदेशकुमार झा, प्रविन तामाङ, सूर्यबहादुर तामाङ, कृष्णबहादुर खत्री, कृष्ण घिसिङ, नेत्रप्रसाद तामाङ, रामचन्द्र मोत्तान, रोएतबहादुर रोक्का, जम्क श्रेष्ठ, रिधबहादुर क्षेत्री, नविन सिग्देल, तुलसी राम खनाल, विष्णु आले, नेत्रबहादुर मगर, मनि श्रेष्ठ र निलहरि ढुगेंल रहेका छन् ।
चालकलाई सम्मान गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नैतिकता, मानवीयता र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरूले देखाएको यो ईमान्दारिताले समाजमा अरू मान्छेहरूलाई पनि सहयोगी बन्न प्रेरणाको स्रोत बनेको बताए ।
ट्राफिक क्षेत्रमा देखिएको समस्याको समाधानको मुख्य आधार नै चालक रहेकोले सडकलाई अनुशासित र मर्यादित बनाउने काम चालकको हो, तपाईँहरु त्यो कार्यमा लाग्नुहोस्, सडकमा देखिएका समस्या समाधान हुन्छ, तपाईँहरुलाई परेको समस्या समाधान गर्न हामी तयार छौँ ।’– प्रमुख ढकालले भने । उनले भने– ‘ट्राफिक प्रहरी र सवारी चालक दुश्मनका रुपमा नभई मित्रको रुपमा व्यवहार गर्नुपर्ने बताउँदै ‘पहिला आफू सुध्रिए मात्र अरु सुध्रिन्छन् भन्ने परिपाटीको विकास गर्नु जरुरी छ ।’
आज सम्मानित हुने चालकहरूमध्ये चालक नविन सिग्देलले अन्दाजी १० लाख ६६ हजार मूल्य पर्ने सुनको १३ तोला बराबरको गरगहना, ल्याप्टप थान १ थान, महत्वपूर्ण कागजपत्र भएको लगेज ब्याग आफैँ बुझाउन ल्याएका थिए ।
महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार यस आव २०७६/७७ मा ट्रयाक्सीमा मात्रै ३९५ वटा सामान छुटेको निवेदन परेको थियो र ट्राफिक प्रहरीको सक्रियतामा अन्दाजी १ करोड ४८ लाख ६० हजार ३६५ मूल्य बराबरको सामान २८० जना सम्बन्धित सामान बुझाईसकेको छ भने ५२ वटा सवारीको नम्बर खुल्न नआएकोले अनुसन्धान जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस