aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 
टिप्पणी

यतीको केक ओली गुटलाई नपचेपछि भयो यस्तो गडबडी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
यतीको केक ओली गुटलाई नपचेपछि भयो यस्तो गडबडी

काठमाडौँ । विपक्षीले ‘टुक्के प्रधानमन्त्री’ उपनाम दिएका प्रधानमन्त्री केपी ओलीलाई पछिल्लो केक काण्डले निकै आलोचित बनायो। तर, त्यहि प्रकरणले नेपाली समाजमा स्थापित एउटा उखानलाई समेत गलत सावित गरिदिएको बारे भने धेरैको ध्यान नै पुगेको छैन। यसरी असान्दर्भिक बनेको उखान हो-‘मरेको बिरालोलाई उपियाँले समेत छोड्छ’।

उल्लेखित उक्ति यसकारण गलत साबित भयो कि ओली शक्तिशाली अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा आसिन रहेकै बेला उनका नजिक रहेका नेकपाका नेताहरु समेत सो प्रकरण पछि टाडिएका छन्। ओली गुटका बलिया खम्बा भनेर परिचित एक नेताले परिचय नखोल्ले सर्तमा भने,‘अब हामी राम राम मात्र भन्न सक्छौं, काँध थाप्न सक्दैनौ।’

यो स्तरको असन्तुष्टी आफुमा आउनुको कारण समेत उनले खोले,‘हामिसँगै थियौँ, पहाडमा जन्मदिन मनाउने योजनामा खटेका थियौँ। आलोचना हुन्छ भन्ने थाहा थियो तथापि प्रतिकारको लागि तयार थियौँ। तर, एकाएक ब्यापक आलोचना भइरहेको यती कै केक त्यहाँ काटीदैछ भन्ने सुईको समेत पाइएन।’ उनले अगाडी थपे,’के भनेर त्यो जायज थियो भन्ने ? त्यसैले अहिले रमिते मात्र बनेका छौँ। यस्तोमा रक्षा गर्न सकिंदैन।’

प्रधानमन्त्रीका निकट रहेका नेताहरुको उनको सचिवालय प्रति तिब्र असन्तुष्टी देखिएको छ। उनीहरु केहि सिमित व्यक्तिले ओलीलाई घेरा हालेको र आफ्नो स्वार्थ पुर्तिकालागि ओलीको राजनीतिक जीवन नै धरापमा पारेको आरोप लगाउन थालेका छन् ।

समाचार स्रोतका अनुसार ओलीको जन्म घरमा आयोजित कार्यक्रमको संयोजन गरेका भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्बाङ सो कार्यक्रम पछि निकै निराश बनेका छन् । स्रोत भन्छ,‘उनलाई अरु कुनै कुराले त्यसरी खल्लो बनाएको होइन केवल यतिका मालिकले केक लगेको र सो केकमा नेपालको नक्सा प्रधानमन्त्रीलाई काट्न लगाएको घटनाबारे आफु पुर्व सुचित नभएकोमा उनी बेखुसी छन् ।’ स्रोतका अनुसार उनले सँगै रहेका नेता सुबास नेम्बाङलाई त्यहीबेला सोधेका थिए, ‘हामी कस्ता मन्त्री हौँ जो साथमै रहेका प्रधानमन्त्रिलाई के गराईदैछ भन्ने समेत थाहा पाउंदैनौ ?’ 

त्यसो त केक काण्डपछि ओलीलाई साथ दिने नाममा अब सती जान नसकिने निष्कर्षमा पुगेका नेता हुन्, सुबास नेम्बाङ । उनले सो दिनको घटनाबारे निकटस्थलाई सुनाउने गरेका छन, ‘हामीले नै कार्यक्रमको अन्त्यमा लौ अब के छ जन्मदिनको तयारी भन्यौं । तुरुन्तै बडेमानको केक आयो ।‘ उनी थप्छन, ‘लौ आठराईमा समेत यस्तो केक बनाउन थालेछन् भनेर सोच्दै थिएँ पछि थाहा भो सोनामले २५ हजारमा केक किनेर दुई लाख खर्च गरेर हेलिकप्टरमा पो त्यहाँ पुर्याएका रहेछन् ।’

ओलीको भ्रमणको तयारी स्वरूप त्यहाँ बाटो निर्माणदेखि सबै काममा प्रतक्ष्य सक्रिय रहेका मन्त्री नेम्बाङ केही समय अघि स्थलगत निरिक्षणमा समेत आठराई गरेका थिए । उनले कुनै कमजोरी र आलोचनाको गुन्जायस नरहोस् भन्ने चाहन्थे तर यतीको पहुँच र ओलीको सचिवालयमा सो समुहका शुभचिन्तक रहेका कारण प्रधानमन्त्रीको तिब्र आलोचना भएको र आफुहरुले त्यहो बचाउ गर्ने ठाउँ नै नरहेको गुनासो गरिरहेको बताइन्छ । 

आखिर, यती समुहले हेलिकप्टरबाट त्यहाँ पुर्याएको केक त सबैले खाए तर त्यो ओली समुहका नेतालाई नै नपचेपछि अहिले सो समुहमा गडबडी भएको देखीएको छ । त्यसै पनि पार्टीमा कमजोर बनेका प्रम ओली आफ्नै गुटका नेता रिसाएको थाहा पाएपछि क्याबिनेटबाट तुरुन्तै राजनीतिक नगर्ने निष्कर्षमा पुगेको समेत बालुवाटार स्रोतले जनाएको छ । अर्थमन्त्री डा. युबराज खतिवडाको निरन्तरता र बामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनयनबारे आइतबारको मन्त्रिपरिषद बैठकले गर्ने अपेक्षित निर्णयबाट ओली तत्काललाई पछि हट्नुको केही कारणमध्ये त्यही केकले ओली गुटको एकतामा गराएको गडबडी पनि प्रमुख रहेको विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस