काठमाडाैं । चीनको वुहानबाट उद्दार गरिएर ल्याइएका १ सय ७५ जना नै कोरोनामुक्त भएका छन्। सोमबार आएको कोरोना परीक्षणको नतिजामा कसैमा पनि कोरोनाभाइरसको संक्रमण नदेखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
१ सय ७५ जनामै कोरोनाको संक्रमण देखा नपरेपछि सबैलाई आजै घर पठाइने देवकोटाले बताए ।
खरिपाटी क्वारेन्टाइनमा रहेका उनीहरूको गत शनिबार कोरोना परीक्षणको लागि घाँटी र नाकको र्यालको नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
गत फागुन ४ गते वुहानमा रहेका १ सय ८५ जना नेपालीलाई उद्दार गरेर नेपाल ल्याइएको थियो। उद्दार गरेर ल्याइएकाहरुले भक्तपुरको खरिपाटीमा १४ दिनको लागि क्वारेन्टाइनमा राखिएको थियो ।
क्वारेन्टाइनको पहिलो दिन नै कोरोना परीक्षणको गरिएको थियो। पहिलो परीक्षणको नतिजामा समेत कसैलाई पनि संक्रमण देखिएको थिएन ।
आइतबार वुहानमा नेपालीलाई उद्दार गर्न गएको जहाजको पाइलटसहित १८ सदस्यलाई नगरकोट क्वारेन्टाइनस्थलबाट घर पठाइएको थियो ।
सरकारले मापदण्ड अनुसार परीक्षण गर्दा एकजनामा पनि संक्रमण देखिए तत्काल संक्रमित व्यक्तिलाई आइसोलेसन गरिने र बाँकीलाई पनि थप १४ दिनको क्वारेन्टाइन म्याद थप्ने बताएको थियो ।
प्रतिक्रिया दिनुहोस