काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक परे अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतले कोरोना भाइरसको उद्गम देश चीन तथा उच्च संक्रमण देखिएका दक्षिण कोरिया, जापान लगायतबाट सिधै तथा ट्रान्जिट भएर आउने उडानहरु रोक्न सरकारका नाममा परमादेश जारी गरेको हो ।
अधिवक्ता पूर्ण राजवंशीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश तेज बहादुर केसीको इजलाशले चीन, जापान, दक्षिण कोरिया, बहराइन, इरान आदि देशबाट सोझै तथा ट्रान्जिट भएर आउने उडानहरुमा रोक लगाउन भनेको हो ।
कोरोनाको गम्भीर संक्रमण फैलिएका देशहरुबाट सोझै वा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेश नदिन पनि आदेश दिएको छ ।
प्रतिक्रिया दिनुहोस