aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

राष्ट्रिय बीउ बिजन कम्पनीका कर्मचारी विरुद्ध ३ करोड २३ लाखको भ्रष्टाचार मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ फागुन २०७६
राष्ट्रिय बीउ बिजन कम्पनीका कर्मचारी विरुद्ध ३ करोड २३ लाखको भ्रष्टाचार मुद्दा


काठमाडौं । राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेडका ८ जना कर्मचारी विरुद्ध ३ करोड २३ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायरा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौँमा कम्पनीका तत्कालीन प्रबन्ध सञ्चालक धर्मराज अधिकारीसमेत अन्य कर्मचारी विरुद्ध मुद्दा दर्ता गरेको हो ।

राष्ट्रिय बीउ बिजन कम्पनी तत्कालिन सञ्चालक समितिका अध्यक्ष र सदस्यहरु तथा अन्य कर्मचारीहरु समेतको मिलेमतोमा बीउ खरिद तथा आव २०७३÷०७४ मा सिजन सिद्धिएपछि व्यवसायीसँग मकैको बीउ खरिद गरी अनुदान कार्यक्रममा राखेर अनियमितता गरेको उजुरी परेको थियो । 

सञ्चालक र प्रवन्ध सञ्चालक समेतको मिलेमतोमा कम्पनीको अनुदानमा कृषकहरुलाई उपलव्ध गराउने मकैको बीउ ‘कृषकहरुलाई उन्नत बीउ बिजन खरिद मूल्यमा अनुदान उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०६८’ अनुसार वितरण नगरी खरिद तथा बिक्री वितरण गरिएको पाइएको छ । उनीहरूले किर्ते कागजपत्र तयार गरी भ्रष्टाचार गरेको पाइएपछि मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

आयोगका अनुसार तत्कालीन राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, कुलेश्वर, काठमाडौंका प्रबन्ध सञ्चालक अधिकारीलाई ४६ लाख १५ हजार २ सय एक, युनिक सिड कम्पनी प्रालि, धनगढी तथा कृषक सहयोग केन्द्र, धनगढी–१३, कैलालीका अध्यक्ष लक्ष्मीकान्त ढकाललाई ३५ लाख ६ हजार ४ सय, बीउबृद्धि कम्पनी प्रालि पिठुवा (रत्ननगर–१५) लाई मुद्दा दर्ता गरिएको हो ।  चितवनका प्रबन्ध निर्देशक रामचन्द्र अधिकारीलाई ११ लाख ८ हजार ८ सय १ रुपैयाँ बिगो कायम गरी जरिवाना र सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको हो ।

त्यसैगरी राष्ट्रिय बीउ बिजन कम्पनी लिमिटेड, केन्द्रीय कार्यालय, कुलेश्वर, काठमाडौंका तत्कालीन कामु महाशाखा प्रमुख रेवतीरमण ओझा, तत्कालीन आर्थिक महाशाखा प्रमुख महेशकुमार पौडेल, तत्कालीन शाखा अधिकृत बिन्दु थापा, आर्थिक महाशाखामा कार्यरत बरिष्ठ सहायक सुरेन्द्रमान श्रेष्ठ र बरिष्ठ सहायक स्टोरकिपर धर्मेन्द्र कुमार झालाई जनही ४६ लाख १५ हजार २ सय १ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र उपदफा दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय मागदाबी सहित अदालत, काठमाडौंमा आरोप(पत्र दायर गरिएको प्रवक्ता कोइरालाद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस