
काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणको २२ औँ वार्षिकोत्सवकाे अवसरमा इन्टरनेटको स्पिड टेस्ट गर्ने एप सञ्चालनमा ल्याएकाे छ । वार्षिकोत्सवकाे अवसरमा प्राधिकरणले बनाएको इन्टरनेट स्पिड टेस्ट एप्स लन्च गर्ने कार्यक्रम थियो । उद्घोषीकाले कार्यक्रमको प्रमुख अतिथिका हैसियतमा अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडालाई एप्स लन्च गर्न भनिन् । खतिवडा लन्च गर्न तयार भए तर ‘इन्टरनेट स्लो’ भएका कारण लन्च हुन पाएन । करिब १० मिनेटसम्म पनि इन्टरनेट राम्रोसँग नचलेपछि सबैको मुहार हाँसोले भरियो ।
करिब १० मिनेटसम्म पनि इन्टरनेट राम्रोसँग नचलेपछि बाँकी कार्यक्रमलाई अघि बढाउन खोजियो । यतिबेलासम्म प्राधिरकणका कर्मचारीहरु आफ्नो बचाउमा इन्टरनेटका कारण समस्या भएको भन्दै रातोपिरो भए । सहभागीले पहिले नै चेकजाँच गरेर राख्नुपथ्र्यो नि भन्दा उनीहरुको एकै स्वर आयो, ‘गर्न त गरेको हो तर खोइ के भयो अहिले ।’
प्राधिकरणले वार्षिकोत्सवका अवसरमा आयोजना गरेको विभिन्न आन्तरिक प्रतियोगीताका विजेता कर्मचारीलाई प्रमाणपत्र वितरण, २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई सम्मान, उत्कृष्ट कर्मचारी सम्मान लगायतका कार्यक्रम ‘पाइपलाइन’मा थिए । यी कार्यक्रमतर्फ अघि बढ्दै गर्दा फ्याट्ट नेट चल्यो र करिब १५ मिनेटको प्रयासपछि ‘इन्टरनेटको स्पिड टेस्ट’ गर्ने एप्स लन्च भयो ।
यो एप्स वार्षिकोत्सवका अवसरमा लन्च गरिएको भएपनि मोबाइलको प्ले स्टोरहरुमा आउन भने केही समय लाग्ने प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस