
काठमाडौं । सञ्चारमन्त्रीको समेत भूमिकामा रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले मंगलबार पदबाट राजीनामा दिएका छन् । राष्ट्रियसभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा भई मंगलबार खतिवडाको पदावधि सकिएसँगै उनले राजीनामा दिएका हुन् । उनको राजीनामापत्र राष्ट्रपति कार्यालय पुगिसकेको उच्च स्रोतले जानकारी दिएको छ ।
अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्रीकै रुपमा वर्तमान सरकारमा निरन्तरता पाउने भएका छन् । मंगलबार राष्ट्रिय सभा सदस्यको कार्यकाल समाप्त भए पनि बुधबार उनलाई अर्थमन्त्रीकै रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउने तयारी भइरहेको सरकारको उच्च स्रोतले जानकारी दिएको छ ।
उनलाई अर्थमन्त्रीकै रुपमा दोहोराउन प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरिसकेका छन् । ‘अब ६ महिनाको लागि उनै खतिवडा अर्थ बन्ने पुरापुर पक्का भएको छ,’ स्रोतले भन्यो ‘उस्तै परे सरकारको वाँकी अवधिभर उनै अर्थमन्त्री बन्छन् ।’ अर्थमन्त्रीको रुपमा खतिवडा रहने की नरहने भन्ने अन्योलता थियो ।
संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नरहेको व्यक्तिलाई राष्ट्रियसभाको सदस्यमा नियुक्त गरेर मन्त्री बन्न पाउने व्यवस्था भए अनुसार उनलाई निरन्तरता दिन लागिएको हो । यसरी मन्त्री बनेका उनलाई ६ महिना भित्र संसद सदस्यको शपत ग्रहण गरी सक्नु पर्ने हुन्छ । स्रोतका अनुसार सांसदका रुपमा आफ्नो कार्यकाल पुरा हुने बितिकै खतिवडाले मन्त्री पदबाट राजिनामा दिने छन् । तर लगतै उनलाई प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपतिले मन्त्रीको रुपमा नियुक्त गर्ने तयारी पुरा भैसकेको छ ।
प्रतिक्रिया दिनुहोस