aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

अप्रेसन थिएटरमा प्रधानमन्त्री, पशुपतिमा विशेष पूजा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ फागुन २०७६
अप्रेसन थिएटरमा प्रधानमन्त्री, पशुपतिमा विशेष पूजा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालकाे अपरेसन थिएटर लगिएको छ । दाेस्राे पटक मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेसन थिएटरमा लगिएको हाे ।

अस्पतालका निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्काले अस्पताल परिसरमा भेला भएका पत्रकारहरुलाई यो जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि प्रा. डा. प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान दिने उनकी भान्जी दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्रीलाई बुधबार ९ बजेदेखि सुरू गर्ने भनिएकाे अपरेसन १० बजेको समयमा अपरेसन कक्ष लगिएकाे छ । 

मिर्गौला प्रत्यारोपण गर्न करिब पाँच घण्टा लाग्ने अस्पतालले जनाएको छ । ज्ञवालीको नेतृत्वमा १५ देखि २० जनासम्म स्वदेशी चिकित्सक टोलीले मिर्गौला प्रत्यारोपण शुरु गरेका हुन् ।

मिर्गौला प्रत्यारोपणअघि उहाँको मङ्गलबार विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको थियो । प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए ।

यसअघि प्रधानमन्त्री ओलीको विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेकी भूमि व्यवस्था तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई भेटेपनि बाेलचाल भने हुन पाएन ।

प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै पशुपतिनाथमा विशेष पूजा

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भइरहँदा उनको स्वास्थ्यलाभको कामनासहित पशुपतिनाथ मन्दिरमा बिषेश पूजापाठ गरिएको छ ।

पशुपति बिकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामनासहित पशुपतिनाथ मन्दिरमा बुधबार पहिलो प्रहरको पुजापाठ गराएका हुन् ।

मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्यलाभको कामना सहित बिहान भएको बिषेश पूजापाठ र रुद्राभिषेकमा डा. थापा सहित अन्य शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

कोषाध्यक्ष थापाले चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस भनेर राष्ट्रदेव पशुपतिनाथमा बिषेश पूजापाठ गराउन लागेको पनि जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस