
भैरहवा । संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका प्रसाद यादवले लगानी गर्नका लागि लगानी कर्ता इच्छुक भए ढोका खुला रहेको बताएका छन् । विशेष आर्थिक क्षेत्र प्राधिकरण भैरहवामा अवस्थित श्री शक्ति मिनरल्स् प्रा.लि.को मंगलबार उद्घाटन गर्दै मन्त्री यादवले लगानी गरेर व्यवसाय गर्न चाहेमा सरकारले ढोका खुला गरेको बताए ।
मन्त्री यादवले उद्योग दर्ताका लागि बुधबार देखि मन्त्रालयमा एकद्धार प्रणालीको सुरुवात गर्न लागेको जानकारी दिए । उनले २०७३ साल देखि भनिदै आएपनि बुधबारदेखि एकद्धार प्रणालीको सुरुवात गरिने बताए । साढे १४ महिना देखि मैले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हालिरहेको छु, ।
अब भने उद्योग दर्ताको लागि विभिन्न मन्त्रालय धाउनुपर्दैन, सबै कागजपत्र लिएर एकै ठाउँमा दर्ता हुने व्यवस्था गर्दैछौं, उनले भने । उद्योगी तथा लगानीकर्ताहरुलाई उद्योग दर्ता गर्ने क्रममा अन्य मन्त्रालयमा काम परे त्यो उद्योगी र लगानीकर्ताको जिम्मेवारी नभइ त्यहाँ रहेका कर्मचारीले सहजीकरण गर्ने उनले बताए । ढोकामा लागेको खिया सफा गर्नेछौं, कागजमा लेखेर मात्र हुँदैन, व्यवहारमा लागू गर्नुपर्छ, उनले भने ।
निर्यातमूखी उद्योग स्थापना गर्नुपर्ने आवश्यकता रहेको मन्त्री यादवले बताए । उनले आयात ९४ प्रतिशत र निर्यात ६ प्रतिशत मात्र रहेकोले उत्पादनमा बढी जोड दिनुपर्ने बताए ।
अब स्थापना हुने उद्योगहरु प्रदुषणरहित हुनुपर्ने मन्त्री यादवले बताए । प्रदुषणलाई मन्त्रालय र जनताले स्वीकार्न नसक्ने उनको भनाइ थियो । उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नुपर्छ भन्नेतर्फ सरकार गम्भिरतापूर्वक अगाडी बढेको उनले बताए ।
नयाँ नीति बनाएर सरकार नीजि क्षेत्रसँग सहकार्य गरेर वा लिजमा लिएर भए पनि उद्योगहरु सञ्चालन गर्ने पक्षमा सरकार रहेको उनले बताए । व्यवस्था अनुसार रुपान्तरण गर्न नसक्दा समस्या निम्तिएको उनले बताए । सबैभन्दा चुनौती व्यवस्था असफल हुनु भनकै व्यवस्था अनुसार आफुलाई रुपान्तरण गर्न नसक्नु हो, उनले भने ।
अरुलाई भ्रष्टाचार नगर, त्याग गर भन्ने र आफुले खल्ती भर्ने प्रवृत्तिले मुलुकको विकास हुन नसक्ने उनको भनाइ थियो । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको नारासंगै काम समेत गरिरहेको उनले बताए । नारा दिएर मात्र सम्भव छैन, सरकारले काम गरिरहेको छ, सकारात्मक सोचको आवश्यकता छ, उनले भने । दुईचार जना मोटाउने प्रवत्तिको अन्त्य गरी समावेशी अर्थतन्त्रमा जोड दिनुपर्छ, संविधानमा पनि त्यो उल्लेख छ, उनले भने ।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव याम कुमारी खतिवडाले उद्योग स्थापना मार्फत मुलुकमै रोजगारी सिर्जना गर्ने मन्त्रालयको लक्ष्य रहेको बताइन् । उनले विशेष आर्थिक क्षेत्र (सेज)मा अन्य उद्योग पनि छिट्टै सञ्चालनमा आउने विश्वास व्यक्त गरिन ।
प्रदेश नम्बर ५ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद के.सी.ले प्रदेश सरकारले उद्योगहरुलाई व्यवस्थित गर्नुपर्छ भन्नेतर्फ लागेको बताए । विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक चण्डिका प्रसाद भट्टले विशेष आर्थिक क्षेत्र (सेज)ले देशको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।
शक्ति मिनरल्स प्रा.लि.का अध्यक्ष विनोद कुमार श्रेष्ठले ४० करोड लगानीमा स्थापना गरिएको उद्योगले उद्योग स्थापनाको पहिलो अनुमति (लाइसेन्स) प्राप्त गर्न सफल भएको बताए । यो उद्योग नेपालमा खनिज पदार्थ प्रशोधन गर्ने पहिलो उद्योगका रूपमा रहने र यसले स्वदेशी कच्चा पदार्थबाट स्टिल्सका लागि आवश्यक पर्ने फ्लक्स उत्पादन गरी भारत तथा अन्य विदेशी मुलुकमा निर्यात गर्ने उनले बताए । उद्योगमा १५५ जनाले प्रत्यक्ष र ५०० जनाले अप्रत्यक्ष रोजगारी पाएको श्रेष्ठले जानकारी दिए ।
५२ विगाहमा फैलिएको विशेष आर्थिक क्षेत्र (सेज) मा ६९ वटा प्लट रहेको छन् ।सेजमा स्थापना हुने उद्योगले आफ्नो उत्पादनको ७५ प्रतिशत विदेश निकासी गर्नैपर्ने प्रावधान छ । यस्ता उद्योगहरूलाई सरकारले १५ वर्ष कर छुट सुविधा दिएको छ ।
प्रतिक्रिया दिनुहोस