aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

राष्ट्रियसभाका नयाँ १८ सदस्यहरूले शपथ लिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ फागुन २०७६
राष्ट्रियसभाका नयाँ १८ सदस्यहरूले शपथ लिए

काठमाडाैं । सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको खुहाएका हुन् । शपथ लिनेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का १६ र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का दुई सदस्य छन् ।  

शपथ लिनु हुनेमा इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अच्छामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमार सिंह यादव, गङ्गाकुमारी बेल्बासे र वेदुराम भुसाल रहेका छन् ।

नवनिर्वाचित सदस्य भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरले पनि आजै शपथ लिनुभएको छ । समारोहमा अध्यक्ष तिमिल्सिनाले नयाँ सदस्यलाई सांसदको लोगो लगाइदिनुका साथै बधाई ज्ञापनसमेत गरे । 

संविधान र ऐन उपलब्ध 

सो अवसरमा सङ्घीय संसद् सचिवालयले उहाँहरुलाई संविधान र कानूनसहितको झोला उपलब्ध गराएको थियो । राष्ट्रियसभा सदस्यका लागि गत माघ ९ गते भएको निर्वाचनबाट सात महिला, दुई दलित, दुई अपाङ्गता भएका वा अल्पसङ्ख्यक र सात अन्य समूहबाट निर्वाचित हुनुभएको थियो । सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक एक सदस्यको भने मनोनीत गर्न बाँकी नै रहेको छ । पहिलो पटक गोलाप्रथाद्वारा दुई वर्षे कार्यकाल प्राप्त गर्नुभएका १८ सदस्यको मङ्गलबार बिदाइ गरिएको थियो ।

स्थायी सदनका रुपमा रहेको सङ्घीय संसद्, राष्ट्रियसभा ५९ सदस्यीय रहने संवैधानिक व्यवस्था छ । शपथग्रहण समारोहमा  राष्ट्रियसभाका उपाध्यक्ष, राष्ट्रियसभामा संसदीय दलका नेता, मुख्य सचेतक, सचेतक, सदस्य, भर्खरै कार्यकाल समाप्त गरेको पूर्वसांसद र नवनिर्वाचित सदस्यका आफन्तजनको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस