aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कोरोना प्रभावित विकासोन्मुख मुलुकलाई विश्व बैङ्कले गर्‍यो १२ अर्व डलर सहायता घोषणा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ फागुन २०७६
कोरोना प्रभावित विकासोन्मुख मुलुकलाई विश्व बैङ्कले गर्‍यो १२ अर्व डलर सहायता घोषणा

वासिंगटन । कोरोनाभाइरस ६० भन्दा बढी देशहरूमा पुगेपछि विश्व बैङ्कले विश्वव्यापी प्रकोपको स्वास्थ्य र आर्थिक असरहरूको सामना गर्ने देशहरूलाई सहयोग गर्न तत्कालका लागि १२ अरब डलरसम्मको प्रारम्भिक प्याकेज उपलब्ध गराउने घोषणा गरेको छ । बैङ्कले जनाएअनुसार यो वित्तीय सहयोग सदस्य देशहरूलाई सो प्रकोप बिरुद्द प्रभावकारी कार्य गर्न र कोरोनाभाइरसद्वारा उत्पन्न दुखद प्रभावहरूलाई कम गर्नको लागी प्रदान गरिएको हो ।

यो फास्ट ट्र्याक प्याकेजमार्फत विश्व बैङ्क समूहले विकासोन्मुख देशहरूलाई स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्न मद्दत पुर्‍याउने छ ।  स्वास्थ्य सेवामा राम्रो पहुँचको साथ मानिसहरूलाई महामारीबाट जोगाउन, रोग सर्भेलेन्सलाई सुदृढीकरण गर्न, सार्वजनिक स्वास्थ्य हस्तक्षेपलाई प्रोत्साहित गर्न यो रकम खर्च गर्नुपर्नेछ । त्यस अलावा यो महामारीले निजी क्षेत्रमा पारेको असर कम गर्न र अर्थव्यवस्थामा यसको प्रभाव कम गर्न पनि प्रयोग हुने छ । 

यो सहयोग प्याकेजको १२ अर्व डलर मध्ये फास्ट ट्रयाकको आधारमा ८ अर्व डलर वितरण गरिने छ । त्यसैगरी २.७ अर्व डलर पुनर्निर्माण र विकासको लागी अन्तर्राष्ट्रिय बैङ्क (आइबिआरडी) मार्फत उपलब्ध गराइने छ । अन्तर्राष्ट्रिय विकास सङ्घ (आईडीए) बाट १.३ अर्व डलर प्राप्त हुनेछ । यस अन्तर्गत नीतिगत सल्लाह र वैश्विक विशेषज्ञताका साथै प्रभावित देश-स्तरको ज्ञानको बारेमा प्राविधिक सहायता पनि समावेश छ।

विश्व बैङ्कका समूहका अध्यक्ष डेभिड मालपासले भने, “हामी कोभिड १९ को विस्तारलाई र फैलावटलाई सम्बोधन गर्न विकासोन्मुख देशको आवश्यकताको आधारमा द्रुत र लचिलो काम गरिरहेका छौँ।” 

विश्व बैङ्कको सहयोगले स्वास्थ्य सेवाहरू र प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण गर्न, रोग नियन्त्रण अनुगमन र रिपोर्ट गर्न, फ्रन्टलाइन स्वास्थ्यकर्मीहरुलाई तालिम दिन, जनताको विश्वास कायम राख्न सामुदायिक संलग्नतालाई प्रोत्साहित गर्न र सबैभन्दा गरिब बिरामीहरुको उपचारमा पहुँच सुधार गर्न विभिन्न हस्तक्षेपहरु लाई समावेश गर्ने छ। देशहरूको विश्वव्यापी विशेषज्ञता पहुँच सुनिश्चित गर्न बैङ्कले नीति र प्राविधिक सल्लाह पनि प्रदान गर्दछ।
 

प्रतिक्रिया दिनुहोस