
एजेन्सी । कोरोनाभाइरस संक्रमणलाई ध्यान दिदैं अमेरिकाको क्यालिफोर्निया राज्यले संकटकालको घोषणा गरेको छ ।
आफ्नो राज्यमा कोरोनाभाइरस संक्रमितको पहिलो मृत्यु पुष्टि गर्दै क्यालिफोर्नियाले राज्यमा संकटकालको घोषणा गरेको हो ।
स्कारमेन्टो नजिकैको एक अस्पतालमा ७१ वर्षिय एक पुरूषको कोरोनाभाइरस संक्रमणका कारण ज्यान गएको छ ।
त्यसैगरी अमेरिकाका १६ राज्यमा कोरोनाभाइरस संक्रमणका मामिलाहरू भेटिएपछि ह्वाइट हाउसले यसको जाँचलाई देशभर लैजाने घोषणा गरेको छ ।
हालसम्म अमेरिकाका १६ राज्यमा १४० बढीमा कोरोनाभाइरसको संक्रमण भेटिको छ भने हालसम्म यसबाट ११ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकामा कोरोनाभाइरसका कारण ज्यान गुमाएका ११ मध्ये १० जना वासिङ्टन राज्यका हुन् ।
फ्लोरिडा अगाडि वासिङ्डनले पनि आफ्नो राज्यमा आपतकालको घोषणा गरेको थियो ।
क्यालिफोर्नियाले संक्रमणका कारण ज्यान गुमाएका ती ७१ वर्षिय पुरूषलाई गत महिना प्रिन्सेस क्रुज सिपमा सानफ्रान्सिस्कोबाट मेक्सिको जाँदा संक्रमण भएको हुनसक्ने अनुमान गरेको छ ।
सरकारले सो क्रुजसिपलाई सानफ्रान्सिस्कोको बन्दरगाहमा फर्किन आदेश दिएको छ ।
यसैगरी अमेरिकाको हाउस अफ रिप्रिजेन्टिभ्सले कोरोनाभाइरसविरुद्ध लड्न आपतकालिन सहायता अन्तरगत ८।३ विलियन डलर रकम खर्च गर्ने अनुमति दिएको छ ।
इटालीमा १०७ जनाको ज्यान गएपछि सबै स्कूल बन्द
देशमा कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि इटालीले देशभरका सबै स्कूल बन्द गर्ने घोषणा गरेको छ ।
इटालीले बिहीबारबाट १० दिनका लागि सबै स्कूल बन्द गर्ने घोषणा गरेको हो।
उसले स्कूल बन्द गर्नेसँगै देशभित्र हुने सबै खेलकुद गतिविधिलाई अप्रिल ३ सम्मका लागि बन्द रंगशालामा गर्ने घोषणा पनि गरेको छ ।
इटालीको सरकारको निर्णय अनुसार हुनैपर्ने खेल गतिविधिहरू बन्द रंगशालामा खेलाइनेछ। यसमा घरेलु फुटबल लिग र अन्तराष्ट्रिय फुटबल खेलहरू रहेका छन् ।
युरोपमा कोरोनाभाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभित इटालीमा हालसम्म यस सम्बन्धी ३ हजार मामिलाहरू दर्ता भएका छन्। यसैगरी यसबाट १०७ जनाले ज्यान गुमाइसकेका छन् ।
यसको संक्रमणबाट टालीको उत्तरी भूभाग धेरै प्रभावित बनेको छ ।
यस्तै इटाली सरकारले स्कूलसँगै सिनेमा घर र सार्वजनिक कार्यक्रमहरू बन्द गर्ने योजना बनाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस