aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

  • रासस
    रासस
  • विहीबार, २२ फागुन २०७६
बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

जोमसोम । सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो । 

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले पहिरो खसेको ठाउँमा सडक मर्मत गरेर खुलाइएको जानकारी दिए । सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीको एक्साभेटर र मजदूर परिचालन गरेर पहिरो पन्छाइएको हो । उपकरण परिचालन गर्नुअघि अप्ठ्यारो र जोखिम भएकाले सुरक्षा निकायको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर चिरा परेको भाग हटाइएको थियो । 

सुक्खा पहिराले सडक भासिएपछि एक्साभेटरसहित कालीगण्डकी नदीमा खसेर चालक सिन्धुपाल्चोकका अर्जुन दाहालको मृत्यु भएको थियो । सडक खुलेपछि बेनीदेखि जोमसोम र जोमसोमदेखि बेनीतर्फ हिँडेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । पहिराले १५ मिटर सडक भासिएको थियो । सडक अवरुद्ध हुँदा यात्रुले गन्तव्यमा पुग्न सवारीसाधन परिवर्तन गर्न बाध्य भएका थिए । पहिरा पार गर्न जङ्गलको उकालोमा ४५ मिनेट घुमाउरो पैदलयात्रा गर्नुपर्ने समस्या थियो ।

प्रतिक्रिया दिनुहोस