aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कोरोना आशंकामा टेकु अस्पतालबाट भागेका विरामी विराटनगरमा फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ फागुन २०७६
कोरोना आशंकामा टेकु अस्पतालबाट भागेका विरामी विराटनगरमा फेला

काठमाडौं । कोरोना आशंकामा टेकु अस्पतालबाट भागेका विरामी विराटनगरमा फेला परेका छन् । कोराना संक्रमणको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएर भागेका बिरामीको मोबाइल ट्र‍्याकिङ गर्दा विराटनगरमा फेला परेका हुन् । 

उनीसँग सम्पर्क गरेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्ड राख्‍ने व्यवस्था मिलाइएको जनाइएको छ । 

ती बिरामी कोरियाबाट आएर बुधबार अस्पताल भर्ना भएका थिए। अस्पतालमा बुधबार नै कोरिया, यूएई र कतारबाट आएका ३ जना नेपाली र नेपाल आएपछि भारत भ्रमण गरेर पुनः नेपाल नै फर्किएका एक जना फ्रेन्च नागरिक भर्ना भएका थिए।

तीन जनालाई खासै समस्या नभए पनि एक जनालाई ब्रोङ्‌काइटिस जस्तो देखिएको थियो। बिहीबार थप एक जनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ। हाल टेकुमा ४ जना शंकास्पद बिरामी भर्ना भएका छन्।

मंगलबार मात्र अस्पतालबाट कोरियाबाट आएका ३ नेपाली र चीनबाट आएका एक जना चिनियाँ नागरिकमा कोरोना परीक्षण पछि संक्रमण नदेखिँदा आइसोलेसन वार्डबाट डिस्चार्ज गरिएको थियो।

यस्तै, अब उपरान्त आइसोलेसन वार्डमा नेपाल प्रहरीका साथै मनोवैज्ञानिक परामर्शदातालाई पनि खटाइने भएको छ।

प्रतिक्रिया दिनुहोस