aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
कारवाही पर्नेमा अधिकांश सर्जिकल हाउस

वाणिज्य विभागको अप्रेशन, एक सातामा २१ फर्मलाई कारवाही, ११ लाख ६० हजार जरिवाना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २२ फागुन २०७६
वाणिज्य विभागको अप्रेशन, एक सातामा २१ फर्मलाई कारवाही, ११ लाख ६० हजार जरिवाना

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक साताको अवधिमा २१ वटा फर्मलाई कारवाही स्वरुप ११ लाख ६० हजार रुपैयाँ जरिवाना गरेको छ ।  विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा बजारमा वस्तुको कृतिम अभाव हुने सम्भावनालाई मध्येनजर गर्दै विभागले अनुगमन कार्यलाई तिव्रता दिएको हो । फागुन १४ गतेदेखि २२ गतेसम्म विभागले २१ वटा फर्मलाई कार्यस्थलमा कारवाही गरेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।

‘कारवाही पर्नेहरूमा औषधि पसलदेखि मार्ट तथा हार्डवयरसम्म रहेका छन्,’ उनले भने ‘बजारमा कालोबजारी  र कृतिम अभाव हुन नदिन अनुगमनलाई तिव्रता दिइएको हो ।’ अहिले कोरोना भाइरसको कारण बजारमा मास्क र सेनिटाइजरको कृतिम अभाव गराइएको छ । 
बजारमा मास्क तथा औषधिजन्य सामग्री कृतिम अभाव सिर्जना गर्ने ४ वटा औपधि व्यवसायीलाई विभागले फागनु २२ गते ४ लाख ३० हजार रुपैयाँ जरिवाना गरेको हो । 

विभागबाट अनुगमनमा खटिएको टोलीले आज बिहीबार वीर अस्पतालस्थित आयूष फार्मेसीलाई  २ लाख, आईज्याक हस्पिटेक सपोर्ट क्षेत्रपाटीलाई २ लाख, एस.जे मेडिको सर्जिकल क्षेत्रपाटीलाई २० हजार र आरएस फार्मेसी महाबौद्धलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो । 
त्यसरी नै विभागले हिजो २१ गते बुधबार ६ वटा व्यवसायीलाई २ लाख ६५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

जयमा एसएस बि स्टोर (मार्ट)मण्डिखाटारलाई ५ हजार २ सय ६५, सिनेस्टार, कमलपोखरीको बिग मुभिजलाई अनुचित व्यापारिक कारोबार गरेको भन्दै २ लाख ५० हजार, खनाल सर्जिकल सप्लायर्स ५ हजार, अर्चना सर्जिकल सप्लायर्स त्रिपुरेश्वरलाई ५ हजार र फिसटेल सर्जिकल हाउस त्रिपुरेश्वरलाई ५ हजार जरिवाना गरेको हो । 

त्यसैगरी विभागले फागुन २० गते नेपाल केयर सर्जिकल सप्लायर्सलाई २ लाख र सचिन ट्रेड कन्सर्न क्षेत्रपाटीलाई १० हजार गरी २ लाख १० हजार जरिवाना गरेको छ । केयर सर्जिकललाई विभागले उपभोक्ता संरक्षण ऐनको दफा ३८ ‘ङ’ को कसुरमा ३९ (१) ‘ख’ को व्यवस्था अनुसार कारवाही गरिएको हो । ११ वटा औषधि पसलको अनुगमन गरेको थियो । 

विभागले १९ गते स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना गरेको छ । खरिद बील नदेखाएको अभियोगमा उक्त कारवाही गरिएको सुवेदीले बताए ।

फागुन १८ गते विभागबाट अनुगमनका लागि खटिएर गएको अनुगमन टोलीले भिजनमार्ट प्रा.ली  सुविधानगरलाई ५० हजार र मेडिहेल्थ सर्जिकल प्रा.लीलाई २० हजार गरी जम्मा ७० हजार रुपैयाँ जरिवाना गरेको छ । विभागले उक्त दिन ५ वटा व्यवसायिक फर्मको अनुगमन गरेको थियो । 

गौमम इन्टरनेसनल प्रा.ली त्रिपुरेश्वर र दृष्टि सर्जिकल हाउसलाई फागनु १६ गते २०÷ २० हजार गरी जम्मा ४० हजार रुपैयाँ जरिवाना गरेको छ । 
विभागले फागुन १५ गते मेघा मार्ट प्रा.ली ईटालीटार चौकलाई २० हजार र गुप्ता किराना स्टोर बुढालिनकण्ठ ५ गरी जम्मा २५ हजार रुपैयाँ जरिवाना गरेको हो ।

त्यस्तै विभागले अमित हार्डवयर एण्ड टुल्स सप्लायर्स बालाजुलाई ५० हजार र जिवि सप्लायर्स बालाजुलाई ५० हजार गरी जम्मा एक लाख रुपैयाँ जरिवाना गरेको छ । ती हार्डवयरहरूलाई मूल्य सूची नराखेकोमा विभागले कारवाही गरेको हो । 

 ‘कारवाहीमा परेका यी व्यवसायीले मास्क, सेनिटाइजर, अन्य औषधीजन्य सामग्री, विभिन्न निर्माण सामग्री तथा अन्य जनउपयोगी वस्तु लुकाएर बजारमा कृत्रिम अभाव सिर्जना गरेका कारण कारवाही गरेको महानिर्देशक सुवेदीले बताए । 
 

प्रतिक्रिया दिनुहोस