खलङ्गा। बाजेको पालादेखि साहुको ऋण बोक्दै आउनुभएका जाजरकोट भेरी नगरपालिका वडा नं ११ कट्टिगाउँका दलित समुदाय ऋण तिर्न नसेर गाउँ छोडेर बिस्थापित भएका छन् । बाबु, बाजेको पालादेखि साहुबाट लिएको ऋणको व्याज तिर्नपनि जीवन भरको को कमाइले पुग्न नसक्ने भएपछि दलित समुदाय गाउँ छोड्न बाध्य भएको हो ।
वडा सदस्य नन्दबहादुर बिकले साहुको ऋण तिर्न नसकेर आफ्नो घरजग्गा साहुलाई दिएर धर्मबहादुर वर पाँच जनाको परिवारसहित भारततिर जानुभएको बताउनुभयो । उहाँका अनुसार दुई बर्ष पहिला कट्टीगाउँ छोडेका धर्मबहादुर अहिले भारतको कुन ठाउँमा हुनुहुन्छ ? कुनै पत्ता लाग्न सकेको छैन ।
वर जस्तै गोब्लो लुहारले पनि एक बर्ष पहिला घरजग्गा साहुलाई दिएर गाउँ छोडी सक्नुभएको छ । ६ जनाको परिवारसहित कट्टीगाउँ छोड्नुभएका लुहारले बर्दिया कोठियाघाटको ऐलानी जग्गा खनेर बसोबास गरिरहेको उहाँका छिमेकीले जानकारी दिनुभयो ।
यस्तै वीरभान वरको परिवार पनि ६ महिना पहिला गाउँ छोडेको छ । ऋण तिर्न नसकेपछि घरजग्गा साहुलाई दिएर चार जना परिवार कट्टीगाउँ छोडेर भारत जानुभए पनि अहिलेसम्म उहाँहरुको अवस्थावारे केही पत्ता लाग्न सकेको छैन । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।
प्रतिक्रिया दिनुहोस