aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

दुई राप्रपा फेरि एक हुँदै, एकता घोषणा २८ गते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ फागुन २०७६
दुई राप्रपा फेरि एक हुँदै, एकता घोषणा २८ गते

काठमाडौं । एउटै पार्टीबाट विभाजन भएर बाहिरीएका दुई वटा पार्टी भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीचमा फेरि एकता हुने भएको छ । शनिबार भएको सम्झौता अनुसार पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको हो। 

पार्टी एकता गर्न १०बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन् ।र पार्टी एकता आउँदो २८ गने गर्ने समेत सम्झौतामा उल्लेख छ । 

 राप्रपाका दीपक बोहोरा, बुद्धिमान तामाङ र भास्कर भद्रा तथा राप्रपा संयुक्तबाट विक्रम पाण्डे, ठाकुर शर्मा र श्याम तिमिल्सिनाले पार्टी एकताको आधारपत्र र कार्यविधि तयार पार्न कार्यदल गठन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । फागुन २८ गते राष्ट्रिय सभा गृहमा पार्टी एकताको कार्यक्रम राखिएको वरिष्ठ उपाध्यक्ष  दिपक बोहराले जानकारी दिए । 

संविधानमा रहेका असहमतिलाई कायम राख्दै एकीकृत राप्रपाले राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राष्ट्र अङ्गीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी पार्टीले शक्ति हस्तान्तरणको सिद्धान्तमा आधारित सुदृढ स्थानीय स्वायत्त शासन, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीतिसमेत अवलम्बन गर्नेछ ।दुवै दलको विधानलाई सामन्जस्य गरी एकीकृत विधान बनाउने सहमति दुई राप्रपाबीच भएको छ । एकीकरणसम्बन्धी आधारपत्रका प्रावधान अन्तरिम विधानसँग बाझिएमा आधारपत्रका सम्झौतालाई मान्यता दिइनेछ ।

विधान सञ्चालनमा कुनै बाधा पर्न गएमा तीन अध्यक्षको सहमतिमा बाधा अड्काउ फुकाउ गरिनेछ । हालका लागि भने राप्रपाको विधानलाई अन्तरिम विधान मानिएको छ । छ महिनाभित्र विधान कमिटीले विधान प्रस्ताव गर्ने छ । सहमतिअनुसार डेढ वर्षभित्र एकीकृत पार्टीको महाधिवेशन गरिने छ । हाल कायम रहेका दुवै दलका निर्वाचन चिह्न छ महिनाका लागि स्थगन गरिएको छ । झण्डाको हकमा हालको राप्रपाको झण्डा प्रयोग गरिनेछ ।

प्रतिक्रिया दिनुहोस