
उदयपुर । कोरोना भाईरसको त्रास फैलिरहेको बेला उदयपुरमा पनि उच्च शतर्कता अपनाइएको छ । जिल्ला समन्वय समिति उदयपुरको अगुवाईमा बसेको जिल्लाका सरोकारवाला निकायको बैठकले संक्रमण भित्रिन नदिन तयारीलाई तिव्र बनाएका हुन् ।
संक्रमण फैलिन नदिनका लागि आबश्यक शतर्कता अपाउने विधी, प्रकृया, फैलि हाले गरिने उपचार पद्धती लगायतका बिषयमा समन्वय समितिले तयारी थालेको हो । समन्वय समितिका प्रमुख खड्गबहादुर दर्नालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जिल्ला र स्थानीय तहमा रहेको दु्रत प्रतिकार्य समुहलाई सकृय बनाउन समन्वय गर्ने निर्णय गरेकोछ ।
त्यसैगरी प्राथामिक स्वास्थय केन्द्र बेल्टार, कटारी र जिल्ला अस्पताल परिषरमा हेल्पडेक्सको स्थापना, अन्य स्थानीय तहमा पनि राख्ने व्यवस्था मिलाउने, आवश्यक स्वास्थ्य व्यवस्था मिलाउने जिम्मा जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेड डा. जीवनारायण मण्डलको नेतृत्वको टिमलाई दिने, कोरोना भाईरस विरुद्धका सन्देशमुलक सूचना संचारमाध्यम र प्रचारप्रसार मार्फत प्रवाह गरी जनचेतना जगाउने निर्णय भएको छ ।
भेला, अधिवेशन, कार्यक्रम, चाडपर्व जस्ता कार्यक्रमहरु तत्कालका लागि स्थगन गर्न अनुरोध गर्ने, सामाजिक संजाल प्रयोग गरी होली पर्व, आठ मार्च जस्ता कार्यक्रमका शुभकमना सन्देस प्रवाह गरी मनाउने लगायतका निर्णय भएको समन्वय प्रमुख दर्नालले जानकारी दिए ।
यसअघि बुधबार मात्र सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले एक विज्ञप्ति प्रकाशित गर्दै आबश्यक सतर्कता अपनाउन अपिल गरेका छन् । विज्ञप्तिमा कोरोना भाइरसको संभावित संक्रमण फैलिन नदिन र संक्रमण भईहालेमा उपचार र रोकथामका लागि पनि जिल्ला अस्पतालमा एक आइसोलेसन वार्डको व्यवस्था गरिएको जानकारी दिइएको छ ।
जिल्ला सुरक्षा समन्वय समितिको बुधबार बसेको बैठकले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरेर सार्वजानिका कार्यक्रम स्थगन गर्ने लगायतका निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले जानकारी दिए । उनका अनुसार पूर्वस्वीकृति लिइएका कार्यक्रमलाई पनि रद्द गर्न अनुरोध गरेको बताए ।
‘छिमेकी राष्ट्र चीन हुँदै विश्वभर महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भनी विश्व स्वास्थ्य संगठनबाट प्रतिक्रिया व्यक्त भइसकेको छ’, उनले भने, ‘नेपाल सरकारले समेत यसको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको सन्दर्भमा यो निर्णय भएको हो ।’
यस्तै कोरोना भाइरसको संभावित संक्रमण फैलिन नदिन र संक्रमण भईहालेमा उपचार र रोकथामका लागि पनि जिल्ला अस्पतालमा एक आइसोलेसन वार्डको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस