
काठमाडाैं । गत एक सातामै सुनको भाउ प्रतितोला ४ हजार ५०० रुपैयाँले बढेको छ । कोरोना भाइरसको प्रभावका कारण फागुन १८ गते प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य फागुन २३ गते शुक्रबार ८२ हजार ५०० रुपैयाँ पुगेको थियाे ।
शुक्रबार ८२ हजार ५०० रुपैयाँ पुगेको सुनकाे मूल्य आइतबार प्रतितोला ८२ हजार ५ सयमा कायम रहेकाे छ । शुक्रबार एकै दिन १८ सयले बढेर सोही मूल्यमा नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज स्थिर छ ।
अमेरिकी फेडरल रिजर्भ बैंकले ब्याजदर ०. ५ प्रतिशतले घटाएर १. २५ प्रतिशत कायम गरेपछि सुनको मूल्य थप बढेको थियो । अमेरिकाले ब्याजदर घटाउँदा लगानीकर्ता सुनमा आकर्षित हुन्छन्, यसले अन्तर्राष्ट्रिय माग बढ्न गई मूल्यमा दवाव पर्ने गरेकाे छ ।
त्यसबाहेक पछिल्लो समय कोरोनाभाइरसको बढ्दो प्रभावले पनि सुनप्रति लगानीकर्ताको विश्वास बढेको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार प्रतिऔंस १६७४ अमेरिकी डलर पुगेको छ।
सुनकाे भाउ लगातार बढ्न थालेपछि सुन काराेबारमा भने मन्दी छाएकाे व्यवसायीहरू बताउछन्। अहिले सुनकाे भाउ बढेर काराेबारमा कमी आउदा व्यवसाय धान्न समेत गाह्राे पर्ने अवस्था आएकाे व्यवसायीकाे गुनासाे छ।
यस दिन सुनसँगै चाँदी पनि स्थीर रहेको छ । चाँदी प्रतितोला ८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस