काठमाडौं । प्राइम कमर्सियल बैंक र कैलाश विकास बैंक लिमिटेडको एकिकृत कारोबार फागुन २९ गतेदेखि शुरु हुने भएको छ । उक्त दुई बैंकको एकिकृत कारोबार गर्नको लागि अघिल्लो दिन बैंकको बैंकिङ सेवा बन्द हुने भएको छ ।
एकिकृत कारोबार गर्दा दुवै बैंकको तथ्यांकलाई एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने व्यवस्था मिलाउनु पर्ने भएकोले फागुन २८ गते एक दिन दुवै बैंकको बैंकिङ, एटिएम, एसएमएस, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ लगायतका सेवाहरु बन्द रहने बैंकले जानकारी दिएको छ ।
प्राइम कमर्सियल बैंक लिमिटेडले कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति गरे पश्चात प्राइम कमर्सियल बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।
दुवै बैंकको पुस २५ गते सम्पन्न छुट्टाछुट्टै साधारण सभाबाट प्राइम कमर्सियलले कैलाश विकासलाई प्राप्ति गर्नेे प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकको फागुन १८ गतेको अन्तिम स्वीकृति पत्र र कम्पनी रजिष्ट्रार कार्यालयको फागुन २१ गतेको पत्रबाट कैलाश विकासको नाममा रहेको कायम सम्पूर्ण सम्पत्ति, दायित्व प्राप्ति पश्चात प्राइम कमर्सियलले बेहोर्ने गरी एक्विजीसनका लागि स्वीकृति प्राप्त भएको थियो ।
प्रतिक्रिया दिनुहोस