aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 
स्टिल झिक्नु पर्नेमा हड्डी झिकिदिए

गाईघाट सिभिल हस्पिटलको यस्ता छन् लुट धन्दा

  • रिता राउत
    रिता राउत
  • आइतबार, २५ फागुन २०७६
गाईघाट सिभिल हस्पिटलको यस्ता छन् लुट धन्दा

उदयपुरको सदरमुकाम गाईघाटमा रहेको सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर विगतदेखि नै सेवा प्रवाह र शुल्कको सन्दर्भमा विवादित बन्दै आएको छ । अस्पताल र डाक्टरको लापरवाहीले विभिन्न घटनाहरु भएका कारण सो अस्पताल पटक पटक चर्चामा आउने गरेको छ। शुक्रवार एक पिडितले आफु सो अस्पतालबाट ठगिएको र उपचारमा चरम लापरवाही भएका कारण ठुलो क्षती व्यहोर्नु परेको भन्दै पत्रकार सम्मेलन नै गरे। यहाँ सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरमा हालैका दिनहरुमा घटेका केही यस्ता घटनाहरु प्रस्तुत गरिएको छ :

घटना-१
खोटाङको दिक्तेल रुपाकोट मझुवागडी नगरपालिका-३, बाम्राङका ४२ वर्षिय पूर्णबहादुर खत्री २०७५ माघ ७ गते दिक्तेल बजारमा लडे । उनको देव्रे कुमको हड्डी भाचियो । दिक्तेल हस्पिटलमा सामान्य उपचारपश्चात काठमाडौंको नेपाल अर्थोपेडिक अस्पताल पुगे । माघ २८ गते डाक्टरले स्टिल लगाई दिएपछि विस्तारै  कुमको हड्डी जोडिन थाल्यो । बेलाबेलामा अवस्था बुझ्न जाँच गराई राख्नु पर्ने भएपछि काठमाडौं र गाईघाट स्थित सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरमा जाँच गराए । जाँचको क्रममा दुबै अस्पतालले हड्डी जोडिदै गएको रिपोर्ट दिएका थिए ।
 
२०७६ कातिक ७ गते गाईघाट सिभिल हस्पिटलका डाक्टर संजयकुमार साहले स्टिल निकालिदिए । अप्रेशन गरेर स्टिल झिककोमा खत्री ढुक्क भए । तरपनि उनलाई दुख्न छाडेन । पुनः नेपाल अर्थोपेडिक अस्पताल काठमाडौंमा एक्सरे गर्न गए ।  अस्पतालले स्टिल निकाल्नु पर्नेमा कुमको हड्डी नै निकालेर फ्याकेको  रिपोर्ट खत्रीको हातमा थमाइदियो । खत्री छाँगाबाट झरे झै भए ।

त्यो बेलाको घटना ब्याख्या गर्दै खत्री भन्छन्, 'सिभिल हस्पिटलका डाक्टर संजयकुमार शाहले सुरुमा ५५ हजार रुपैयाँ लाग्छ भने । मैले महँगो पर्ने भएपछी त्यहाँ उपचार नगराइ फर्कने निधो गरेँ । तर, घर फर्कनै लाग्दा अस्पतालका एक सञ्चालक आएर मोलमोलाई शुरु गरे ।' उनि थप्छन्,'सुरुमा ५५ हजार लाग्छ भनेकोमा पछि २५ हजारमै अप्रेसन गरिदिने भनेपछी म उपचारको लागी तयार भएँ।' अस्पताल र डाक्टरले नियतबस हड्डी काटेर धेरै खर्च गराउन खोजेको खत्रीको आरोप छ ।

पिडित खत्रीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा उजुरी दिए । प्रहरीले दुवै पक्षलाई छलफलको लागि बोलाउदाँ एक अर्काले आरोप प्रत्यारोप लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विरबहादुर बुढामगरले बताए । एसपी बुढामगरले भने, ‘अस्पताल प्रशासनले विश्वमै जहाँ गएपनि उपचार यस्तै हुन्छ भने पिडितले नियतबस हड्डी काटिदिए भनेका छन् यस विषयमा अनुसन्धान गर्दैछौँ ।’ गलत इलाज भएको  ठहर भएमा कानुन बमोजिम कारबाहि गर्ने एसपी मगरको भनाई छ ।

सो घटना सम्वन्धि बुझ्न डाक्टर मोहम्मद अजिजलाई पटक पटक सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउँन चाहेनन् । अस्पताल प्रशासनमा सम्पर्क गर्दा डाक्टरहरु बाहिर रहेको र यसबारे आफुलाई थाहा नभएको जवाफ आएको छ ।

घटना-२
उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ की कमला रोकाको महिनावारी रोकियो । रोका गर्भ बस्यो कि भनेर चेकजाचँ गर्न २०७६ बैशाख १३ गते सिभिल हस्पिटल पुगिन् । डा. मोहम्मद अजिजले स्वास्थ्य परीक्षण गरे ।भिडियो एक्स–रे गर्दा बच्चा नभई मासुको डल्लाजस्तो देखिएको रिपोर्ट आयो ।उनको पेटमा बच्चा रहेको भन्दै अस्पतालले गर्भपतन गर्न सुझाए। सोही दिन गर्भपतन गरेर घर फर्किन् ।

सात दिनसम्म रक्तश्राव नरोकिएपछि पुनः चेकजाँच गर्न हस्पिटल गइन् । हस्पिटलले फेरि गर्भपतन गरायो । दुई पटकसम्म गर्भपतन गरे पनि पुनः बच्चा जस्तो डल्लो देखियो । पटक पटक यस्तो रिपोर्ट आउँदा उनलाई शंका लागेर उनी जेठ १५ मा काठमाडौंको सिभिल हस्पिटल पुगिन् । हुँदै नभएको बच्चा छ भन्दै पटकपटक गर्भपतन गरेकोले क्यान्सर संक्रमण भएको रिपोर्ट आयो ।

कमलाको गाईघाटदेखि काठमाडांैसम्म उपचार गर्न आउँदा १० लाखभन्दा माथि खर्च भयो । खर्च भए पनि उनलाई निको भने भएन। डाक्टरको लापरवाहीले आफु क्यान्सर जस्तो महारोगको शिकार हुन बाध्य बनाएको भन्दै उनले सञ्चार माध्यम गुहारिन् । पत्रकार सम्मेलन गर्दै अस्पताल र डाक्टरको गम्भीर लापरबाहीको पर्दाफास गरेर अन्य जनताको स्वास्थ्य बचाउन आफु लागी पर्ने प्रतिबद्धता जनाइन् ।

यता, कमलाको आरोपलाई अस्पतालले भने ठाडै नकार्यो । रोक्काको पत्रकार सम्मेलनपछि हस्पिटलले जवाफी पत्रकार सम्मेलन गर्दै अस्पताल र डाक्टरले कुनै गल्ती नगरेको भन्दै विश्वव्यापी प्रचलन र प्रविधि अनुसार उपचार गरेको दावी गर्यो । अस्पतालका डा. मोहम्मद अजिजले कमलाको पेटमा प्रिग्नेन्सी पोजिटिभ देखिएको दाबि गरे। भिडियो एक्स–रे गर्दा मासुको डल्लो देखिएकाले त्यसलाई एमभिए (हावाद्वारा निकाल्ने) प्रविधिमार्फत निकाल्दा पुनः देखिएपछि अर्को पटक पनि सोही प्रविधिदुवारा उपचार गरिएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । डा. अजिजले चलनचल्तीको प्रविधि अनुसार उपचार गरेको दावी गर्दै मेडिकल कानुनभन्दा फरक ढंगले उपचार गरेको ठहरिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको भन्दै पत्रकार सम्मेलन गरेका थिए ।

अस्पतालका प्रवन्ध निर्देशक रामकुमार गुरागाईले पनि एक विज्ञप्ति प्रकाशित गरी रोक्काको उपचारमा कुनै कमजोरी नभएको दावी गरे । उनले विरामीको भावनामाथि चोट पुर्याउने कुनै मनसाय नरहेको र उपचार गर्दा पनि विधि प्रक्रिया र ‘मेडिकल नम्स’ अनुसार गरेको दावी गर्दै गल्ती गरेको भए सजाय सहन तयार रहेको र अस्पतालविरुद्ध गरेको प्रचार गलत ठहरिए रोक्का पनि सजाय सहन तयार हुनुपर्ने माग गरे ।

विभिन्न सञ्चार माध्यममा समाचार आए । दुबै पक्ष पिडित हुँ भन्दै सञ्चार माध्यम गुहारे । यो घटनामा न सम्बन्धित निकाएको ध्यान गयो न त छानविन नै भयो ।

घटना-३
उदयपुर जिल्लाको लिम्चुङ्बुङ गाउँ पालिका वडा नम्वर ४ बलम्ताकी पुनम राईले गर्भ रहेको चार महिनामा पहिलो पटक त्रियुगा हस्पिटल प्रालि गाईघाटमा भिडियो एक्सरे गरिन् । डाक्टरले बच्चा जन्मिने समय चैत्र १७–२० गते तोकिदिए । पछि चैत्र ६ गते फेरि विश्वास मेडिकल गाईघाटमा भिडियो एक्सरे गराईन् । त्यहाँका डाक्टरले पनी चैत्र २० गतेको समय दिए।

उनि फेरि चैत्र ७ गते गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरमा भिडियो एक्सरे गरिन् । उनलाई डा. अजिज साहले चैत्र ८ गते नै अप्रेसन गर्नुपर्छ भने । चैत्र ८ गते बिहान अस्पतालमा आएपछि दिउँसो २ बजे अप्रेसन कक्षमा पुनमलाई लगियो । अप्रेसन सफल भयो भन्दै डाक्टरले बच्चा ठिक छ, आत्तिनु पर्दैन भन्दै आफन्तलाई आश्वस्त पारे।

अप्रेसन सफल भएकोमा आफन्तहरु खुशि थिए । पुनम भन्छिन्, 'एकाएक साँझ साढे सात बजेपछि तपाईँको बच्चालाई बाहिर लैजानु पर्छ भन्यो । हस्पिटलले नै एम्बुलेन्स बोलाएर बच्चालाई नोबेल हस्पिटल रेफर गर्यो । डाक्टरले अन्त कतै लैजानु पर्दैन नोबेलमै लैजानु मैले सबैकुरा नोबेल हस्पिटललाइ भनिसकेको छु भने  ।' आफन्तले बच्चालाइ राति साढे नौ बजे नोबेल अस्ताल विराटनगर पुर्याए ।

डाक्टरले नवजात शिशुलाइ ढिलो ल्याउनु भयो भन्दै भेन्टिलेटरमा राख्यो । दुइ दिनसम्म भेन्टिलेटरमा राखेपछि तेस्रो दिन आईसियुमा राख्यो । तीन दिनसम्म हस्पिटलमा राख्दा  समेत शिशुमा केही सुधार आएन । अब केहि गर्न सकिदैन शिशुको अवस्था गाईघाटकै अस्पतालले विगारेको भन्दै नोबेल हस्पिटलले डिस्चार्ज गरिदियो । डिस्चार्ज भएपछि सोहि दिन साँझ पुनः गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर ल्याई पुर्याइयो । राति ९ बजे शिशुको मृत्यु भयो ।

सुविधा नै नभएको ठाउँमा सुविधा छ भन्दै अस्पतालको लापरबाहीले नवजात शिशुको ज्यान गएको आरोप लगाए । सबै थोक हुन्छ भन्दै व्यथा नलागी अप्रेसन गरेर शिशुको मृत्यु भएको भन्दै आफन्तले अस्पताल घेराउ गरे । पीडित परिवारले भने हाम्रो धन पनि सकियो । ज्यान पनि गयो । यो सबै अस्पतालको लापरबाहीबाट भएको हो भन्दै क्षतिपुर्ति माग गरे । गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरमा ४० हजार भन्दा बढी र नोबेल अस्पताल विराटनगरमा एक लाख भन्दा बढी खर्च भएकोले यसको क्षतिपुर्ति पाउनुपर्ने उनीहरुको माग थियो ।

गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिका सञ्चालक राम गुरागाइँले घटना लुकाउन पीडितलाई रकम ५० प्रतिशत रकम फिर्ता गर्ने आश्वासन दिए । प्रसूति गराउन अप्रेसन गर्नु अघि डिपोजिटको रूपमा लिएको ३३ हजार रकम मध्ये ५० प्रतिशत अर्थात् १६ हजार ५ सय रुपैयाँ अस्पतालका सञ्चालक गुरागाइँले फिर्ता दिए । यसले के पुष्टि भयो भने अस्पतालकै कमजोरीका कारण बच्चाको ज्यान गएको हो ।

प्रतिक्रिया दिनुहोस