aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

३९ बीमा कम्पनीबाट ६ महिनामै ४२ अर्बको कारोबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ जेठ २०७६
३९ बीमा कम्पनीबाट ६ महिनामै ४२ अर्बको कारोबार

काठमाडौं, जेठ १ । नेपालमा हाल सञ्चालन भइ कारोबार गरिरहेका विभिन्न ३९ वटा बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो ६ महिना अर्थात गत पुसम्ममा मात्रै करिब ४१ अर्ब रुपैयाँको कारोबार गरेका थिए । सञ्चालनमा रहेका १९ वटा जीवन र २० वटा निर्जीवन  बीमा कम्पनीले ४१ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समितिले जानकारी दिएको छ ।

बीमा समितिले ५०औं वर्ष पुगेको अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा बीमाको बजार बार्षिक रूपमा बढिरहेको छ । बीमा कम्पनीहरुले गत वर्ष ७३ अर्ब रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । चालू आवको ६ महिनामै ४१ अर्ब पुग्नुले यसलाई निकै सकारात्मक रूपमा लिइएको छ । 

बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी)मा बीमा क्षेत्रको योगदान २.४३ प्रतिशत रहेको छ । बीमा क्षेत्रले ३० खर्ब ३५ अर्बको जीडीपीमा २.८३ प्रतिशतले योगदान दिइरहेको छ । यस्तो योगदान वर्षेनी बढिरहेको छ । 

बीमा समितिका अनुसार २०७०/७१ मा जम्मा ३० अर्ब बीमा शुल्क आर्जन भएको थियो । त्यसपछिका चार वर्षमा यस्तो शुल्क बर्षेनी बढिरहेको छ । यस्तो शुल्क बढेर ०७२र७२ मा ३६ अर्ब, २०७२/७३ मा ४३ अर्ब २०७३/७४ मा ५४ अर्ब हुँदै २०७४/७५ मा ५४ अर्ब ७३ अर्ब पुगेको छ । बीमा कम्पनीबाट भएको यस्तो शुल्कमा निर्जीवनको हिस्सा १० अर्ब ९३ करोड रुपैयाँ छ भने जीवन बीमाको हिस्सा ३० अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
 
हाल नेपालमा सरकारी स्वामित्वका २ वटा, निजी ३२ वटा, विदेशी कम्पनीका शाखा ३ वटा र संयुक्त लगानीका ३ वटा कम्पनी रहेका छन् । यी कम्पनीमा ९८ हजार बीमा अभिकर्ता रहेका छन् । यसमध्ये नवीकरण भएका अभिकर्ताको संख्या भने जम्मा ५६ हजार रहेको छ।  यस व्यवसायमा संग्लग्न बीमा सर्वेयरको संख्या भने ४१६ जनामात्रै छ।

यसमा पनि ३७२ जनाको मात्रै इजाजतपत्र नवीकरण भएको छ । नेपालमा सञ्चालित बीमा कम्पनीसँग जम्मा ५१ लाख ५२ हजार वटा बीमालेख रहेको छ । चार वर्ष अगाडिसम्म जम्मा १० लाखमात्रै बीमा लेख रहेको थियो । बीमा लेखको संख्या वार्षिक १० देखि १५ प्रतिशतले बढिरहेकोमा चालू आवको ६ महिनामा भने यस्तो संख्या एकैपटक ८४ प्रतिशतले बढेको देखिएको छ ।
 
नेपालमा सञ्चालित जीवन र निर्जीवन बीमा कम्पनीमार्फत सरकारलाई वार्षिक ७ अर्ब १९ करोड रुपैयाँ कर तिरेका छन् । समग्र बीमा कम्पनीले तिर्ने यस्तो कर चार वर्ष अगाडि जम्मा ८७ करोड रुपैयाँमात्रै रहेको थियो । सरकारलाई कर तिर्नेमा जीवन बीमाभन्दा निर्जीवन बीमा कम्पनीको दर बढी छ ।

निर्जीवनले गत वर्ष ३ अर्ब ८८ करोड रुपैयाँ कर तिरेकोमा जीवन बीमा कम्पनीले  २ अर्ब ४२ करोडमात्रै तिरेका थिए । कारोबारको हिसाब र बीमा संकलन शुल्कको हिसाबले जीवन बीमाको दायर फराकिलो हुँदै गएको भए पनि कर तिर्नेमा भने निर्जीवन बीमा कम्पनी नै अगाडि छन् ।   

प्रतिक्रिया दिनुहोस