aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २६ फागुन २०७६
नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा रोक

काठमाडाैं । कोरोना भाइरस  (कोभिड-१९) को तीव्र संक्रमणसँगै कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।

कतार सरकारले आइतबार सूचना जारी गर्दै चीन, भारत, इजिप्ट, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, थाइल्यान्ड र नेपालका नागरिकलाइई प्रवेशमा रोक लगाएको त्यहाँको सञ्चार माध्यमले जनाएको छ । 

कतारमा आज बिहानसम्ममा १५ जना संक्रमित भएका छन् । त्यहाँको सार्वजनिक स्वास्थ्य मन्त्रालयले तीन जना आप्रवासी कामदारलाई पनि कोरोना संक्रमण भएको जनाएको छ ।  कतारमा हालसम्म ३ लाख ५१ हजार नेपाली कामदार रहेको त्यहाँका दूतावासले जनाएको छ । 

चीनको वुहान शहरबाट शुरू भएको कोरोना भाइरस अहिले विश्वको एक सय ९ वटा देशमा फैलिसकेको छ । हालसम्म कोरोनाबाट ३ हजार ८ सय ३० जनाको मृत्यु भएको छ भने एक लाख १० हजारभन्दा बढी संक्रमित भएका छन् । 

प्रतिक्रिया दिनुहोस