
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको र उनलाई एक-दुई दिनमै अस्पतालबाट डिस्चार्ज गर्न सकिने उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
ओलीको गत बुधवार त्रिभुवन विश्वविद्याल शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन उनी सोमवार अस्पताल भर्ना भएका थिए ।
उनको पछिल्लो स्वास्थ्यस्थिति सामान्य रहेको प्रत्यारोपणको नेतृत्व गरेका प्रा. डा. प्रेमराज ज्ञवालीले बताए । "उहाँको रगत, रक्तचाप, पिसाबलगायत सबै सूचकाङ्क राम्रो स्थितिमा छन्," डा. ज्ञवालीले भने, "उहाँ भोलि वा पर्सिसम्म डिस्चार्ज हुन सक्नुहुन्छ।' ओलीलाई मिर्गौला दिने महिलाको स्वास्थ्यस्थिति पनि राम्रो भएको अस्पतालले जनाएको छ ।
चिकित्सकहरूका अनुसार प्रत्यारोपित मिर्गौलाले राम्ररी काम गरेपछि ओली अहिले आराम गरिरहेका छन् । उनलाई सन्तुलित आहार दिन थालिएको र नियमित हिँडडुल गराउन थालिएको अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले बुधवार बताएका थिए ।
त्यसअघि उनलाई साधारण खाना दिइएको थियो। उनलाई फिजिओथेरपी पनि गराइएको थियो । सङ्क्रमणको जोखिम घटाउन उनलाई धेरै भेटघाट नगर्न सुझाव दिइएको छ। सबै कुरा सुधारोन्मुख भए पनि प्रधानमन्त्री ओली तत्काल काममा भने फर्किन नहुने डा. ज्ञवालीको भनाइ छ ।
डा. ज्ञवालीले भने, "उहाँले कम्तीमा पनि एक-डेढ हप्ता आराम गरेको राम्रो हो । शल्यक्रिया सफल भयो भनेर काममा गइहाल्नु राम्रो होइन ।"
तर प्रधानमन्त्री ओलीले सामान्य 'टेबलवर्क' भने गर्न समस्या नहुने उनको भनाइ छ । बाह्र वर्षअघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीको शरीरमा अब चारवटा मिर्गौला भएका छन् ।
प्रतिक्रिया दिनुहोस