एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना (कोभिड १९) भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनस भइरहेको छ । भाइरसको त्रासका कारण क्रुड आयलको उत्पादनमा आएको कमीका कारण विश्वभरी तेलको मुल्यमा गिरावट आउन थालेपछि साउदी अरेबियाले तेलको उत्पादन बढाउने निर्णय गरेको छ ।
तेलको मूल्य नाटकीय रूपमा ओरालो लागेको छ र बजारहरूमा पनि हलचल भएको छ। साउदी अरेबियाली कदम र कोरोनाभाइरस सङ्क्रमणको त्रासको असर अन्तर्राष्ट्रिय बजारमा पनि पर्न थालेको छ। विश्वभरि कोरोनाभाइरसको त्रास बढ्दै गर्दा तेलको मूल्य ओरालो लागेपछि त्यसको असर विश्व बजारमा पर्न थालेको हो।
सोमवार बजार खुलेलगत्तै अमेरिकाको न्यूयोर्क र ब्रजिलको साओपाओलोका शेयर बजारहरूमा पनि गिरावट आएका विवरण प्राप्त भएका छन्। युरोपेली बजारमा असर देखिँदै गर्दा ब्रिटेनको मुख्य शेयर सूचकाङ्कले विश्व आर्थिक सङ्कट भएयताकै खराब दिनको सामना गरेको छ।
प्रमुख व्यापारिक फर्महरूले अर्बौँको घाटा बेहोरेका छन्। तेलको मूल्यमा पनि २० प्रतिशतले गिरावट आएको छ र बेन्टको कच्चा तेलको मूल्य प्रति ब्यारेल ३६ डलरभन्दा कममा झरेको छ।
युरोपेली बजारमा आठ प्रतिशतले गिरावट आएको छ। त्यसअघि एशियाका सट्टा बजारले पनि ठूलो घाटा सहेका थिए। न्यूयोर्कको बजारमा पनि त्यसको असर पर्न सक्ने चिन्ता बढेको छ। कोभिड-१९ को आर्थिक असरलाई लिएर गहिरो रुपमा चिन्ता व्यक्त भइरहेका बेला अमेरिकी शेयरबजारमा ठूलो धक्का लागेको छ।
अन्तर्राष्ट्रिय ऊर्जा निकायले सन् २००९को आर्थिक सङ्कट सकिएपछि पहिलो पटक तेलको माग कम हुने भविष्यवाणी गरेको छ। तेल उत्पादक देशहरूको सङ्गठन ओपेक र रुस तेल उत्पादन कटौती गर्ने विषयमा सहमत नभएपछि बजारमा तेलको परिमाण बढ्ने सम्भावना बढेको छ।
तेल निर्यातकर्ता देशहरूको मुद्रा पनि अवमूल्यन हुन थालेको छ। रुसी रुबल अमेरिकी डलरको तुलनामा छ प्रतिशतले तल झरेको छ। तेल उत्पादन बढाउने साउदी अरेबियाको एकपक्षीय निर्णय र कोरोनाभाइरसको प्रकोपका कारण व्यापारिक गतिविधिमा परेको प्रभावका कारण तेलको मूल्य त्यसरी तल झरेको हो।बिबीसी र एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस