
काठमाडौं । काठमाडौंको मुटुमा रहेको चाबहिल गौशालाको सडक खण्ड ६ महिना पछि मात्र कालोपत्रे हुने भएको छ । उक्त स्थानको सडक सदाबहार खाल्डाखुल्डी हुने गरेको छ ।
कालिका कन्स्ट्रक्सनले लगभग १ महिना अघिदेखि खानेपानीको पाइप हाल्न थालेपछि उक्त सडकमा खाल्डाखुल्डी र पानी बगिरेहको छ । खानेपानीको पाइप हाल्नको लागि कालिका कन्स्ट्रक्सनलाई ६ महिना समयअवधि दिएको छ । उक्त कन्स्ट्रक्सनले पाइप हालिसकेपछि मात्र चाबहिल गौशालाको सडक खण्ड कालोपत्रे गरिने सडक डिभिजन कार्यलयका सुचना अधिकारी सजना अधिकारीले बताइन ।
चाबहिलको पिपलबोट देखि गौशालासम्मको सडकको अवस्था हेर्दा असार साउनमा हिलाम्मे हुने सडक भन्दा केही कमि छैन । सडकको पेटीमा हिड्दा समेत चिप्लियर लडिएला भनेर भित्ता तिर समातेर हिड्नु पर्ने बाध्यता रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले माघको अन्तिमसम्ममा काठमाडौंका सबै सडकमा खाल्डाखुल्डी पुरीसक्न निर्देशन दिएका थए । प्रधानमन्त्रीको निर्देशन अनुसार नै काम गरेको दाबी गर्दै सडक विभागले ९० प्रतिशत काम पुरा भएको दाबी गरिरहेको छ । तर सडकको हालत भने ज्युको त्यु देखिन्छ । रिङरोड भित्र रहेको सडक डिभिजन कार्यालयले हेर्ने सडक मध्ये हालसम्म ९० प्रतिशत खाल्डाखुल्डी मर्मत भएको सडक डिभिजन कार्यलयको भनाइ छ ।
उपत्यकाको सडकका खाल्डाखुल्डी पुर्न र मर्मत सम्भार गर्न २ अर्ब ५ करोड बजेट छुट्याएको मध्ये हालको ६ महिनामा ३३ करोड ३४ लाख २ हजार ९ सय ८० रूपैयाँ बजेट खर्च भएको डिभिजन कार्यलयले जनाएको छ । असारदेखि यता १० किलोमिटर ओभरले गरेको सडक डिभिजन कार्यलयका सुचना अधिकारी सजना अधिकारीले बताइन् ।
सडक विभागअन्तर्गतका करिब ९ हजार किलोमिटर सडकमा रहेका खाल्डाखुल्डी तीन महिनाभित्र पुरिसक्ने सडक विभागकोे लक्ष्य थियो तर लक्ष्य अनुसार काम भने हुन सकेको छैन । उपत्यका र राष्ट्रिय राजमार्गमा रहेका खाल्डाखुल्डी पुर्न र टालटुल गर्न विभागले १ अर्ब रुपैयाँ बजेट छुट्याएको सडक विभागका सूचना अधिकारी अर्जुन सुवालले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डाखुल्डी पुर्न र त्यसका निम्ति वातावरण तयार गर्न निर्देशन दिएपछि सडक मर्मतको काम केही हदसम्म अगाडि बढेको छ । सडक विभाग अन्तर्गत रहेको ९ हजार सडक मध्ये सडक डिभिजन कार्यलयले ४ सय सडकको मर्मत सम्भार गर्ने छ ।
प्रतिक्रिया दिनुहोस