
काठमाडौं ।सरकारले टुटल र पठाओ सेवामाथि फेरि प्रतिबन्ध लगाएको छ । यातायात व्यवस्थापन विभागले सार्वजनिक सूचना प्रकाशित गर्दै एउटा प्रयोजनका लागि दर्ता गरिएका सवारी साधन अर्को प्रयोजनमा उपयोग गर्न नपाइने भएकाले त्यस्तो गरिएको पाइएमा कारवाही गर्ने स्पष्ट पारे पनि टुटुल र पठाओले भने कुनै पनि निकायबाट आधिकारिक रुपमा कुनै पनि सुचना नआएको बताएका छन् ।
पठाओका क्षेत्रिय निर्देशक अस्मिन मान सिंह बस्नेतले पठाओ कार्यलयमा प्रतिबन्ध लगाउने कुनै पनि सुचना नआएको बताए । उनले भने ‘हामीलाई कुनै पनि सुचना आएको छैन । हामीलाई नभएर त्यो अरु नै रातो नम्बर प्लेट भएको सवारी साधनलाई भनेको होला’ । टुटलका सियो सिक्जित भट्टले पनि अहिले सम्म टुटलुलाई कुनै पनि सुचना नआएको र आफुले प्रतिबन्ध लगाउने कुरा न्युज मार्फत थाहाँ पाएको बताए ।
उनले भने ‘हामीलाई सरकारले कुनै पनि पत्र लेखेको छैन । हामी भनेको अवसर दिने हो सेवा दिने मोटरसाइकलले हो यदि हामी माथि प्रतिबन्ध नै लगायो भने पनि हामी छलफल गरेर अगाडि बढ्छौ’ ।
आजै विभागका महानिर्देशक गोगन बहादुर हमालले आफैं हस्ताक्षर गरेर सूचना प्रकाशित गरि टुटल र पठाओका सेवा माथि पुनः प्रतिबन्ध लगाएका हुन् । विभागले गत मंसिर ३ गते पनि सार्वजनिक सूचना निकालेर टुटल तथा पठाओका सेवाहरु रोक्न निर्देशन दिएको थियो ।
ट्याक्सी भन्दा सस्तो र सार्वजनिक सवारी साधन भन्दा छिटो एवं सहज भएकाले पछिल्लो समय टुटल तथा पठाओका सेवाहरु लोकप्रिय बनिरहेका छन् । तर सरकारले रातो नम्बर प्लेटका निजी सवारी साधनले भाडाका यात्रु बोक्न नपाउने व्यवस्थामा टेकेर टुटल तथा पठाओमाथी प्रतिबन्ध लगाएको बताउँदै आएको छ । यातायात व्यवसायी महासंघले टुटल र पठाओको सेवा रोक्न दबाव दिँदै आएका थिए ।
प्रतिक्रिया दिनुहोस