
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसदहरूले कोरोना भाइरसका कारण विश्वनै त्रसित रहेसँगै नेपालमा कालो बजारी पनि बढेको बताएका छन् । सांसदहरुले बजारमा दैनिक उपभोग्य वस्तको कृतिम अभाव सिर्जना हुन थालेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेकपाका सांसद खगराज अधिकारीले कोरोनाको त्रास देखाएर ग्यासलगायत अतिआवशयक सामाग्रीहरुको कृतिम अभाव भइसकको बताए। ‘बजार कालोबजारीको हातमा गइसक्यो। यस्तो काम गर्नेलाई कारबाही गरियोस’, उनले भने।
नेपाली कांग्रेसका सांसद पुष्पा भुसालले कोरोना भाइरसका कारण ६५ सयको मृत्यु भइसकेको र धेरै संक्रमणमा परेको अवस्थालाई लिएर बजारमा खान पकाउने ग्यास लुकाईसकेका कुरालाई सरकारले कडाईका साथ हेर्नुपर्ने बताइन्।
उनले खाद्य सामाग्री र औषधि उपचारका लागि सरकार तयार रहनुपर्ने र जनतालाई खाद्यान्न र औषधि उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने माग गरिन्।
राष्ट्रिय जनता पार्टी नेपालका सांसद महेन्द्रराय यादवले कोरोना भाइरसका कारण जनतामा अन्यौता र क्रास सिर्जना सृजना भएको बताउँदै सूचना दिने एकद्धार प्रणाली विकास गर्न माग गरे। ‘सिमानमा गम्भीरता देखिएको छैन । सरकारले सीमामा व्यवस्थापन गर्न जरुरी छ। रोग नियन्त्रणका लागि संघीय सरकारले ठोस कदम चालोस्, यादवले भने।
नेमकिपाका सांसद प्रेम सुवालले कोरोना नियन्त्रणका लागि खुल्ला सिमाना भएको ४१ ठाउँमा हेल्थ डेक्स राखे पनि धेरै सीमा खुला भएकाले त्यसलाई व्यावस्थित गर्न सुझाव दिए।
सांसद डीला संग्रौलाले कोरोना भाइरसको त्रास विश्वव्यापी भएका कारण जनता त्रसित छन् तर मन्त्रीहरुले गैरजिम्मेवार अभिव्यक्ति दिने गरेको आरोप लगाइन्। उनले भनिन्, ‘बजारमा ग्यासलगायत अतिआवश्यक बस्तुको अभाव देखिएको छ। सरकारले खाद्यान्नको अभाव देखाउन हुँदैन। बजार नियमनलाई प्रभावकारी गर्नुपर्यो।’
सांसदहरुले कोरोना भाइरसका कारण क्रास बढिरहेकाले संसद स्थगित गर्न माग गरे। सांसदहरु दिव्यमणि राजभण्डारी, भरत शाह, राजेन्द्र केसीलगायतले संसद बन्द गरेर कोरोना नियन्त्रणमा सहयोग गर्न सभामुख र सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस