aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

नगरप्रमुख र उपप्रमुख विवादः एक नगरका दुई कार्यालय, सेवाग्राही अन्योलमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ फागुन २०७६
नगरप्रमुख र उपप्रमुख विवादः एक नगरका दुई कार्यालय, सेवाग्राही अन्योलमा

सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा दुई स्थानमा कार्यालय राखेर  नगरको काम गरिएकोे छ । नगरप्रमुख र उपप्रमुखले बेग्लाबेग्लै स्थानमा नगरपालिकाको  कार्यालय राखेर नगरको काम गरेका हुन् ।  

नगरपालिकाको आफ्नो कार्यालय हुँदाहुँदै नगरप्रमुख अभयकुमार सिंहले आफ्नो गाउँ हथियौलको एक निजी घरमा नगरपालिकाको कार्यालय राखेर नगरका गतिविधि सञ्चालन गरिरहेका छन् । नगरप्रमुख र उपप्रमुख बीचमा विवाद हुँदा नगरको काम कार्वाही प्रभावित हुनाका साथै नगरपालिकाको कार्यालयसमेत दुई स्थानमा सञ्चालन हुँदा नगरवासी सेवा लिन कहाँ जाने भन्ने अन्योलमा छन् ।

स्थानीय निकायको निर्वाचन भएर जनप्रतिनिधि आउँदा  आफूहरुले पाउँने सेवासुविधामा सहज महसुस गरेका नगरवासी अहिले समस्यामा परेका छन् । स्थानीय निकायको निर्वाचनलगत्तै नगरप्रमुख र उपप्रमुख बीचमा शुरु भएको विवादले अहिले कार्यालयसमेत दुईवटा बनेको छ ।  

एउटै पार्टीबाट नगरप्रमुख र उपप्रमुख निर्वार्चित भएका भए पनि आपसमा राम्रो सम्बन्ध नहुँदा कार्यालय दुई स्थानमा राख्नुपर्ने अवस्था सृजना भएको जानकारहरुले बताउँदै आएका छन् । साथै नगरको विकास लगायत नगरसभासहितका कामकारवाही नराम्ररी प्रभावित भएका छन् ।

नगरप्रमुख सिंह र नगरउपप्रमुख रामसखी देवी दुवैजना राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका हुन् । पछिल्लो समयमा नगर उपप्रमुख रामसखीले नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष तथा जनप्रतिनिधिको साथ लिएर नगरप्रमुख सिंहको विरोध गरेका बताइएको छ । उनले नगरप्रमुख सिंह एकलौटी ढङ्गले चलेको, नगरको विकास लगायतका काममा आफूहरुसँग समन्वय नगरेको आरोप लगाएका छन् । 

“ आफूहरु नगरपालिकाको कार्यालयमा बसेर नगरवासीलाई सेवा प्रदान गरिरहेको भए पनि नगरप्रमुख सिंहले आफ्नो गाउँमा लगेर नगरपालिकाको अर्को कार्यालय राख्नुभएको र आफ्नो मनोमानी निरन्तर गरिरहनुभएको छ”, नगरउपप्रमुख रामसखीले भने । अर्काततिर नगरप्रमुख सिंह भने आफूलाई नगरपालिकाको कार्यालयमा बसेर काम गर्न सक्ने वातावरण नभएको बताए । “आफूले काम सहज तरिकाले गर्न नपाएकोले नगरपालिकाको अर्को कार्यालय खोल्न बाध्य भएको हुँ”, नगरप्रमुख सिंहले भने । 

उपप्रमुख र वडाध्यक्षले विना काममा नगरको काममा अवरोध गरी पटकपटक तालाबन्दी गरेका र आफूलाई त्यो स्वीकार्य नभएकाले बाध्य भएर अर्को कार्यालय खोलेर भए पनि आफूले नगरवासीको सेवा गरिरहेको नगरप्रमुख सिंहको भनाइ छ  । एउटै नगरपालिकाको कार्यालय दुई स्थानमा सञ्चालन हुँदा नगरप्रमुख, उपप्रमुख तथा वडाध्यक्ष भेट्न जाने नागरिक अलमलमा परेका छन् । कर्माचारी नगरप्रमुखको वा उपप्रमुख कसको कार्यालयमा बसेर काम गर्ने भन्ने अन्योलमा परेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस