aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 
नेपाल आउन कोराना नभएको प्रमाणित हुनुपर्ने

कोरोना संक्रमण भए तीन अस्पतालमा उपचार गर्ने सरकारी तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ फागुन २०७६
कोरोना संक्रमण भए तीन अस्पतालमा उपचार गर्ने सरकारी तयारी

काठमाडौं । कोरोनाको जोखिम बढ्दै गएपछि सरकारले तीन अस्पतालमा उपचार गर्ने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण फैलिएमा विभिन्न तीन किसिमका अवस्था आँकलन गरी शंकास्पद बिरामीको उपचार गर्न अस्पताल तोकेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । 

बिरामीहरुलाई आइसोलेसनमा राख्न र आवश्यक उपचार गर्न पहिलो पंक्तिमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, एपीएफ अस्पताललाई तोकिएको मन्त्रालयले आज बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । मन्त्रालयले अन्य अस्पताललाई सूचीकरण गरिसकिएको जनाए पनि ती अस्पताल कुन कुन हुन् भन्ने सरकारले खुलाएको छैन ।

सरकारले यी अस्पतालमा आइसोलेसन बेड, औषधि उपकरण, आवश्यक जनशक्तिसहितको योजना बनाइएको छ । 
मन्त्रालयले हालसम्म ४५० जनाको नमूना परीक्षण गरेको थियो । १ जनामा मात्रै कोरोना भाइरस पोजेटिभ देखिएको छ । ती एक जना पनि निको भइसकेका छन् । यस्तै संक्रमणको आशंकामा ६ जना राजधानीको टेकु र पाटन अस्पतालको आइसोलेसन वार्डमा रहेको पनि मन्त्रालयले जनाएको छ । 

८ मुलुकका नागरिकलाई नेपाल आउन कोराना नभएको प्रमाणित हुनुपर्ने

सरकारले ८ वटा मुलुकबाट नेपाल आउन अनअराइभल भिसा स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई नेपालमा फैलन नदिन सो रोगको उच्च संक्रमण भएका ८ मुलुक चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई नेपाल आउन रोक लगाएको हो । 

कोरोनाको उच्च जोखिम भएका ती मुलुकहरुबाट आउने यात्रुलाई रोग नभएको प्रमाणित हुने कागज लिएर मात्र नेपाल प्रवेश हुन पाउने प्रावधान अनिवार्य गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 
उच्च जोखिम भएका मुलुकहरुबाट आउने सबै यात्रुका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ज्वरोको स्क्रिनिङ्ग र स्वघोषणा फारम भर्ने अभियानलाई अनिवार्य लागू गरिएको छ । 

यस क्रममा स्वस्थ रहेका व्यक्तिहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्ने लिखित प्रतिवद्धतासहित पालना गर्नुपर्ने नियमहरुका बारेमा सूचित गर्ने व्यवस्था गरिएको पनि स्वास्थ्य मन्त्रालयले प्रवक्ता विकास देवकोटाले जनाएको छ । सरकारले यो संक्रमण रोकथामका लागि चीन र भारतसँग सीमा जोडिएका प्रवेश नाकाहरुमा स्थापना भएका ४३ वटा हेल्थ डेस्कहरुबाट नेपाल प्रवेश गर्ने

व्यक्तिहरुको स्क्रिनिङ्ग, स्वास्थ्य परीक्षण कार्यलाई निरन्तरता दिने समेत व्यवस्था गरेको छ । रोगबारे निगरानी, रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले १८जना सर्भिलेन्स अधिकृत खटाउने तयारी समेत गरेको छ । देशव्यापी रुपमा चेतनामूलक जानकारी प्रवाह गर्ने तथा केन्द्रीय तथा प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रहरुबाट प्रदेश सरकार र स्थानीय तहसँग बिरामीको उपचार तथा व्यवस्थापन गर्न समन्वय समेत गरिरहेको छ । 

सरकारले नेपाल–भारत सीमामा सचेतना तथा सतर्कता अपनाउन आवश्यक समन्वय समेत गरिरहेको छ । यसका लागि क्रस बोर्डर मिटिङ भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले विदेश जान चाहेको खण्डमा कोरोना नरहेको प्रमाणपत्र चाहिने अवस्थामा टेकु अस्पतालले आवश्यक जाँचको आधारमा रिपोर्ट दिने गरेको छ । 

प्रतिक्रिया दिनुहोस