aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

कोरोना त्रासः श्रम स्वीकृति रोकियो, नेपाल आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० फागुन २०७६
कोरोना त्रासः श्रम स्वीकृति रोकियो, नेपाल आउनेले १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरस (कोभिड–२०१९) लाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई पनि ३० अप्रिल अर्थात वैशाख १२ गतेभन्दा अगाडि नो अब्जेक्सन सर्टिफिकेट नदिने सरकारले निर्णय गरेको छ । विश्व स्वास्थ्य स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोना भाइरसलाई महामारीको घोषणा गरेपछि बिहीबार बसेको कोभिड – १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

यसअघि सरकारले दक्षिण कोरियामा मार्च महिनाभर श्रमिक नपठाउने निर्णय गरेको थियो । नेपालको मुख्य श्रम गन्तव्य कतार, साउदी, मलेसिया, यूएई लगायतका देशमा पनि अहिले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । 

कोरोनाको सङ्क्रमण बढ्न नदिन भन्दै कतारले यसअघि नै नेपालीसहित १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ भने कुवेतले पनि भिसा दिन बन्द गरेको छ । 

यस्तै कुवेतले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शैक्षिक संस्था बन्द गरेको छ भने आज शुक्रबार रातिदेखि कुवेतले सबै व्यवसायिक उडान पनि बन्द गर्दैछ । कुवेत सरकारले घरभित्रै पनि धेरै मानिस जम्मा भएर नबस्न आफ्ना नागरिकलाई अनुरोध गरेको छ ।

साउदीले पनि नेपालबाट हुने सिधा उडानबाहेक ट्रान्जिट हुँदै प्रवेशमा रोक लगाएको छ भने तीन वटा विमानस्थल मात्र खुल्ला गरेको छ । 

यूएईमा यसअघि नै दुई नेपाली श्रमिकको कोरोना भाइरसको संक्रमणको पुष्टि भइसकेको छ । सरकारले विदेशमा रहेका नेपालीहरुलाई अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसैबीच नेपालले तेस्रो देशका नागरिकहरुलाई स्थलमार्ग हुँदै नेपाल प्रवेशमा दिइँदै आएको सुविधा शनिबारदेखि वैशाख १८ सम्मका लागि स्थगित गरेको छ ।

विदेशीहरुलाई दिइँदै आएको अनअराइभल भिसा पनि वैशाख १८ गतेसम्मका लागि यसअघि नै स्थगित गरेको छ भने  भिसा लिइसकेका विदेशी नागरिकले नेपालको अध्यागमन आइपुग्नुभन्दा सात दिनअघिको स्वास्थ्य जाँच रिपोर्ट अध्यागमन कार्यालयमा बुझाउनु पर्ने व्यवस्था गरिएको छ ।

यस्तै शनिबारदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । 

प्रतिक्रिया दिनुहोस