
काठमाडौं । तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजिनामा दिएको २२ दिन पछि बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको सम्पुर्ण प्रक्रिया क्यान्सिल गर्न निर्देशन दिएको छ । यस विषयमा छलफलमा जुटेका सांसदहरूले कसैले उपसमिति बनाएर छानविन गर्ने विचार प्रस्तुत गरे भने कसैले उपसमिति बनाउन नपर्ने अडान राखे । कुनै सांसद भने केही बोलेनन् । यस विषयमा सभापति भरतकुमार शाहलाई सांसदहरू बीचको विवाद मिलाउन हम्मे हम्मे नै पर्यो ।
बोल्नेमध्ये अधिकांश सांसदले प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रोक्ने प्रस्ताव राखे र भने ‘सरकार–सरकार(जी टू जी) हुने यस्तो प्रक्रिया रोक्नु पर्छ ।’ यहि निर्देशन दिन समितिका सभापति भरतकुमार शाहलाई सुझाए पनि । र उनीहरू जी टू जीबीच हुने यस्तो खरिद प्रक्रियाका विषयमा स्पष्ट व्यवस्था हुनुपर्ने बताए । हाललाई भने यो खरिद प्रक्रिया रोकिनु पर्नेमा उनीहरूको जोड थियो ।
तर, सांसद रघुबीर महासेठले भने खरिद प्रक्रिया नरोक्न आग्रह गरे । ‘बुझेरमात्र अघि बढ्नु पछर्, अहिलेकै अवस्थामा रोक्न मिल्दैन,’ उनले भने ।
स्वयम् सञ्चारमन्त्रीले नै यस प्रक्रियालाई रोक्ने र जी टू जी प्रक्रियामार्फत नभइ ग्लोबल टेण्डर गर्ने बताइसकेको अवस्थामा हामीले केही गर्नु नपर्ने बताए । महासेठ शहरी विकास मन्त्री हुँदा भारत सरकारबाट ल्याउन लागेको रेल अहिलेसम्म आएको छैन । यो रेल पनि जी टू जी प्रक्रियामार्फत नै ल्याउन लागिएको हो । सांसद मैना कुमारी भण्डारीले पनि बाँस्कोटाको सक्दो बचत गरिन् र उनले भनिन् ‘यसमा सरकार आफैले छानविन गरिरहेकोले थप छलफल गर्न आवश्यक देखिदैन । अहिले तत्काल खरिद प्रक्रियालाई रोक्नु पर्ने आवश्यकता छैन ।
सांसद धर्मशीला चापागाईँ, मिनेन्द्रप्रसाद रिजाल, राजेन्द्र कुमार (राजन) केसी, प्रेमवहादुर आले, मिना सुब्बा, विरोध खतिवडालगायतका सांसदले भने हाललाई सो प्रक्रिया रोकेर सरकार– सरकारबीच हुने खरिद प्रक्रियाकै विषयमा नीतिगत छलफल गर्नुपर्ने बताए । र भने ‘ हाललाई सो खरिद प्रक्रिया रोक्नु पर्छ ।’ छानविन र अध्ययननै नभइ राज्यको ढुकुटी रित्याउने काम गर्न पाइदैन । यसबाट समय समयमा ठूलो विवाद निम्तिएको र पछि पनि यस्तै विवाद आउने बताए ।
सांसद मोहम्मद इश्तियाक राईले ल्याउन लागेको मेशिनको रेट सबैलाई थाहा छ भन्दै देश वर्वाद पार्ने महारथीलाई त्यति कै छाड्न नहुने बताए । ‘सेक्युरिटी प्रिन्टिङ प्रेस मात्र होइन जी टू जी प्रक्रियामार्फत सबै मन्त्रालयबाट भएका यस्ता खरिद प्रक्रिया रोक्नु पर्छ,’ उनले भने ।
तथस्ट बस्दै सांसद शरदसिंह भण्डारीले मन्त्रालयहरूबाट यस्ता काम भइरहेको र यसले सधै समस्या ल्याउने बताउँदै यस विषयमा नीतिगत निर्देशनात्म निर्णय गर्नुपर्ने बताए । यसरी विषयगत जान सम्भव नहुने उनले प्रष्टाए । सांसद प्रदिप यादवले प्रेस खरिद अनियमितताको विषयले चर्चा पाइरह्दा मुद्रण विभागका प्रमुख भने विदामा बसेको सन्दर्भ उठाए ।
अन्त्यमा यसरी गरियो निर्णय
झण्डै दुई घण्टाको छलफलमा पनि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा छलफल गर्न बसेको बैठकले विषय वस्तुको निचोड निकाल्न नसकेपछि सभापति शाहले सांसदहरूलाई दोहोराएर आफ्नो धारणा राख्न सुझाए । त्यति बेला प्राय सांसदले यसरी निर्णय गरौं उसरी गरौं भनेर जोड पनि दिए ।
यति भएपछिमात्र सांसद शाहले चार वटा निर्णय भने गरे । बैठकले गरेको पहिलो निर्णय थियोः सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रिया रोक्ने र आवश्यक भए खुला प्रतिस्पर्धा मार्फत ग्लोबल टेण्डरमा जाने । दोस्रो निर्णयः यस विषयमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देश गर्ने । तेस्रो निर्देशनः जी टू जी खरिद प्रक्रियाको विषयमा सम्बन्धित मन्त्रालयका मन्त्री र मुख्यसचिसँग छलफल गर्ने र चौथो तथा अन्तिम खरिद प्रक्रियाको लागत अनुमानलगायतका कागजातको अध्ययन गरी थप छलफल गर्ने निर्णय निर्णय गरियो ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा घुस मागेको अडियो बाहिरिएपछि तत्कालिन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताका आधारमा राजीनामा दिएका थिए । उनले यस विषयमा छानविन गर्न समेत सरकारलाई आग्रह गरेका छन् ।
बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड घूस माघेको अडियो सार्वजनिक भएको थियो । उक्त प्रेस बाँस्कोटाले २८ अर्बमा किन्न लागेका थिए । पहिला खरिद गर्न लागिएको मूल्यमा दुई अर्ब बढाएर बाँस्कोटाले ७० करोड आफूलाई कमिशन मागेका हुन् । कमिशन मागेको कुरा बाहिरिएपछि उनले मन्त्रीबट राजीनामा दिएका हुन् ।
के हो सेक्युरिटी प्रिन्टिङ प्रेस ?
स्वदेशमै सुरक्षित मुद्रण गर्ने उद्देश्यले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापना गर्ने नेपाल सरकारले निर्णय गरेको थियो । प्रेस स्थापना हुँदा राष्ट्रिय परिचयपत्र, पासपोर्ट, स्मार्ट लाइसेन्स, जग्गाधनी प्रमाणपुर्जा, अन्तःशुल्क स्टिकर, सिमकार्ड, रिचार्ज कार्ड, बैंकका एटीएमदेखि मौद्रिक नोटसम्मको छपाइ नेपालमै गर्न सकिने बताइएको छ ।
तर, नेपालमा ल्याउन लागेको उक्त प्रेसमा के कस्ता फिचरहरू राखिएका छन् यस विषयमा भने जानकारी गराइएको छैन ।
प्रतिक्रिया दिनुहोस