
काठमाडौं, जेठ १ । अर्थविद्हरुले संघीयता बलियो बनाउने खालको बजेट ल्याउनुपर्नेमा जोड दिएका छन् । बुधबार आयोजित कार्यक्रममा बोल्दै पूर्वमुख्य सचिव डा. विमल कोइरालाले कर्मकाण्डी र अग्ला अग्ला प्रतिज्ञा गर्ने खालको बजेट ल्याउन नहुने स्पष्ट पारे ।
कोइरालाले भने–‘यसअघिका बजेट प्रचारबाजी र प्रियतावादका लोभले गाँजेको थियो । पूरा नहुने कुरा धेरै हुन्थे । बजेटको पुस्तिका फोहोर भयो ।’ संघीयताको आभाष नहुने बजेट ल्याउन नहुने उनको सुझाव छ ।
सरकारले जनतासामू देखाएको आशा पूरा गर्नुपर्नेपनि उनको भनाइ छ । उनले भने–‘हाम्रो स्रोतको आयतन साँघुरो छ । सरकारले अब प्राथमिकताहरु तोक्नुपर्छ । जनताका जीवनमा परिवर्तन ल्याउने कार्यक्रमहरु ल्याउनुपर्छ । पेचिला प्रश्नहरु सामना गर्ने कार्यक्रम ल्याउनुपर्छ ।’
स्थानीय सरकारलाई बलियो बनाउनुपर्नेमा पनि उनले जोड दिए । उनले भने–‘ जनतालाई सक्षमता दिलाउन संघीयताले मौका दिएको छ । तर, हामीले यो अवसरको सदुपयोग गर्न सकेनौं । केन्द्रले अधिकार दिनुपर्छ ।’
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले संघले ठूला–ठूला आयोजना, प्रदेशले मझौला र स्थानी सरकारले सानातिना आयोजनाहरु हेर्ने गरी बजेट ल्याउन सरकारलाई सुझाए । उनले खर्च गर्न नसक्ने बजेट ल्याउन नहुने पनि तर्क गरे ।
विगतमा एक सातामा कुल बजेटको ११ प्रतिशत बजेट खर्च भएको तितो सुनाउँदै बजेटको कार्यान्वयनको अनुगमनमा पनि विशेष जोड दिनुपर्ने धारणा राखे । त्यस्तै, रकमान्तर गर्ने कुरा पनि संवेदनशील रहेकाले यसतर्फ पनि सरकार सचेत हुनुपर्ने उनको भनाइ छ । वर्तमान सरकारलाई समाजवादउन्मुख अर्थतन्त्रको दिशा समात्ने अवसर भएकाले नेतृत्वले अवसर गुमाउन नहुने पनि क्षेत्रीले बताए ।
अर्का अर्थविद् डा. चन्द्रकान्त पौडेलले योजना आयोगको १५औं योजनासँग अब आउने बजेट हार्मोनाईज हुनुपर्नेमा जोड दिए । उनले भने–‘अहिले दुई तिहाई बहुमतको स्थायी सरकार छ । संस्थागत सुधारहरु देखा परेका छन् । भर्खरै उत्साहजनक लगानी सम्मेलन भएको छ ।’
उनले पपुलिष्ट र महत्वकांक्षी बजेट ल्याउन नहुने सुझाव दिए । उनले भने–‘साहसपूर्ण प्रस्तुति हुनुपर्छ । समाजवादी अर्थतन्त्रको लक्षण देखिनुपर्छ । अहिलेको बजेट समाजवादी बजेट आउने संकेत प्राप्त भएको छ ।’ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामाजिक सुरक्षा र दोहोरो अंकको आर्थिक वृद्धिद्धरको कुरा उल्लेख भएको सुनाउँदै उनले यो राम्रो पक्ष भएको जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस