
काठमाडौं । क्षेत्रपाटी परिवार कल्याण केन्द्रले निशुल्क पुरुष बन्ध्याकरण सेवा पुनः शुरु गरेको छ । डा. जेस्मीन श्रेष्ठको नेतृत्वको टिमले बिहिबारदेखि सेवा शुरु गरेको हो । संस्था क्षेत्रपाटी स्थित आफ्नो पुरानो स्थानबाट डल्लु आवासको नयाँ भवनमा सरेपछि केहि समयको लागि सेवा बन्द भएको थियो ।
बिहिबार सेवा लिन लाएका सेवाग्राहिहरुले चिकित्सक तथा स्वास्थकर्मीहरुबाट परिवार नियोजन र पुरुष बन्ध्याकरण सम्बन्धि उचित परामर्श पाएको बताए । आफ्नो मनका भएका प्रश्नहरुका बारेका भरपर्दो सल्लाह सुझाव पाएर आपूmहरुमा निर्धक्क हुन सकेको उनीहरुले बताउछन ।
स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.जेस्मीन श्रेष्ठले सन्तानको इच्छा पुगिसकेका दम्पतिका लागि पुरुष बन्ध्याकरण अति प्रभावकारी र सुरक्षित विधि भएको बताइन । यो विधिमा शुक्रकीट लैजाने नलिलाई बाँधेर काटिन्छ जसले गर्दा शुक्रकिट विर्यमा मिसिन पाउँदैन । तर, यो विधि तुरुन्तै प्रभावकारी नहुने भएकोले ३ महिनासम्म कण्डमको प्रयोग गर्न वा अन्य प्रभावकारी साधन लिन जरुरी छ ।
डा. श्रेष्ठका अनुसार हाल क्षेत्रपाटीमा सुरु गरिएको सेवालाई नन– स्क्याल्पल भ्यासेक्टोमी (Non- scalpel vasectomy) भनिन्छ जसमा ब्लेडले नकाटि शल्यक्रिया गरिन्छ । यस विधिमा दुखेको कम गर्ने सुई लगाइन्छ र पुरुष होसमा नै हुन्छन् । शल्यक्रिया गरेको केहि समयमा नै सेवाग्राही घर जान सक्ने अस्पतालले जनाएको छ ।
क्षेत्रपाटी परिवार कल्याण केन्दमा पुरुष बन्ध्याकरण बाहेक परिवार नियोजनका सम्पूर्ण अस्थाई साधनहरु पनि उपलब्ध भएको नर्सिङ् इन्चार्ज शान्ता घिमिरेले बताइन । स्वास्थ्यकर्मिको परामर्श सहित पिल्स चक्कि, तीन महिने सुई, पाखुरामा राखिने इम्प्लान्ट, पाठेघरमा राखिने कपर–टी आदि साधनहरुको लागि पनि सेवाग्राहिहरुको लागि क्षेत्रपाटी परिवार कल्याण केन्द्रमा भरपर्दो संस्था बनेको छ ।
प्रतिक्रिया दिनुहोस