
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले चैत २० गतेदेखि शत प्रतिशत हकप्रद शेयर विक्रीमा ल्याउने भएको छ ।
कम्पनीले ९३ लाख ८५ हजार २०० कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हकप्रद शेयर प्रयोजनका लागि फागुन २२ गते एक दिन बुक क्लोज गरेकाले फागुन २१ गतेसम्मका कायम शेयरधनीले यो हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रद शेयरमा वि.स २०७७ वैशाख १० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा एनएमबि क्यापिटल लिमिटेड, एनएमबि बैंकका शाखा कार्यालयहरु, सेन्ट्रल फाइनान्सको शाखा कार्यालयहरु, गुडविल फाइनान्सको शाखा कार्यालयहरु तथा आस्बा सदस्य सेवा लिएका सम्पूर्ण बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन दिन सकिने छ । कम्पनीको विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
हकप्रद निष्कासनको लागि कम्पनीले नेपाल धितोपत्र बोर्डबाट माघ २१ गते स्वीकृति पाएको हो ।
कम्पनीको हाल चुक्तापूँजी रू. ९३ करोड ८५ लाख २० हजार रहेको छ । हकप्रद बाँडफाँट पछि उक्त पूँजी रू. १ अर्ब ८७ करोड ७० लाख ४० हजार पुग्नेछ ।
कम्पनीले जारी गर्न लागेको हकप्रदलाई इक्रा नेपालले इक्राएनपि ग्रेड ४ प्लस रेटिङ प्रदान गरेको छ ।
प्रतिक्रिया दिनुहोस