aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

कोरोनाबारे छलफल गर्न केहिबेरमा सार्क राष्ट्रबीच भिडियो संवाद हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०२ चैत्र २०७६
कोरोनाबारे छलफल गर्न केहिबेरमा सार्क राष्ट्रबीच भिडियो संवाद हुँदै

काठमाडाैं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्रहरुले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध साझा रणनीति तय गर्न आज भिडियो कन्फरेन्समार्फत् छलफल गर्ने भएका छन् । भिडियो कन्फरेन्स नेपाली समयअनुसार साँझ सवा पाँच बजे हुनेछ ।

सार्क नेताहरूबीच कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मिलेर अगाडि बढ्ने विषयमा सहमति जुटेपछि भिडियो कन्फरेन्स गर्न लागिएको हो । कन्फरेन्सको औपचारिक थालनी दिल्लीबाट हुनेछ ।  

अघिल्लाे साता भारतीय प्रधानमन्त्री नरेद्र दामाेदर नाथ माेदीले बिश्वमा महामारीकाे रूपमा फैलिरहेकाे काेराेना भाइरस बिरूद्द एक जुट भएर लाग्न छलफल गर्ने उदेष्यले अाैपचारिक निमन्त्रणा गरे पछि सार्क सदस्य मुलुकले भिडियाे कन्फरेन्स गर्ने प्रस्ताव स्वीकार गरेका थिए ।

नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली आफैं भिडियो संवादमा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको एक्सन रुमबाट प्रधानमन्त्री ओली भिडियो संवादमा सहभागी हुनेछन् । 

दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेपछि प्रधानमन्त्री ओली सहभागी हुने यो पहिलो औपचारिक कार्यक्रम हो । 

सार्क सदस्य देशका सरकार तथा राष्ट्र प्रमुखहरुले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आफ्नो देशले गर्दै आएको र गर्नुपर्ने कामका विषयमा भिडियो कन्फरेन्समार्फत् धारणा राख्नेछन् । त्यसपछि एकीकृत रणनीति बनाउने योजना रहेकाे छ ।   

सार्कको सदस्यमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन् । हाल सार्कको अध्यक्षता नेपालले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस