
काठमाडौं । प्रधानमन्त्री केपी ओली भियतनाम र कम्बोडियाको एक साताको औपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्केका छन् । प्रधानमन्त्री चढेको जहाजका लागि आकाश ठप्प पारिँदा बुधबार साँझ एयर अरेबिया, फ्लाई दुबई, क्याथे ड्रागन, इत्तिहाद र कतार एयरवेजका यात्रुले आकाशमा फन्को लगाइरहनुपरेको थियो ।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र उच्चपदस्थ कर्मचारीले स्वागत गरेका थिए ।
मिडिया काउन्सिलसम्बन्धी विधेयकको आलोचना भइरहँदा प्रधानमन्त्री केपी ओलीले हचुवामा नल्याइएको बताएका छन् । भियतनाम र कम्बोडियाको औपचारिक भ्रमण सकेर फर्किएका प्रधानमन्त्रीले बुधबार साँझ त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मिडिया काउन्सिलसम्बन्धी विधेयकको बचाउ गरेका हुन् ।
‘संसद्भन्दा अगाडि सरेर लोकतन्त्रको बदनाम नगर्नूस् । सभ्य समाजका लागि विधेयक ल्याइएको हो । हचुवाका भरमा सरकारले विधेयक ल्याएको होइन,’ उनले भने ।
प्रधानमन्त्रीले भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी भएको बताए । प्रधानमन्त्री ओली, श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको टोली भियतनाम हुँदै कम्बोडिया भ्रमणमा गएको थियो । नयाँ पत्रिका दैनिकबाट ।
प्रतिक्रिया दिनुहोस